फागुन २५, काठमाडौं ।
संसदीय दलको निर्वाचनमा कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई मत हालेपछि कांग्रेसमा नयाँ ध्रुवीकरण सुरु भएको छ । मिडियामा शशांकले देउवालाई मत हालेको भन्ने समाचार आए पनि उनले अहिलेसम्म प्रस्टीकरण दिएका छैनन् ।
उनको मौनताले कतै शशांक देउवा पक्षमा प्रवेश त गरेका होइनन् ? भन्ने चर्चा र विश्लेषण सुरु भएको छ । दलको निर्वाचनमा शशांक मात्रै होइन, डा.मिनेन्द्र रिजाल र डा.नारायण खड्काले पनि देउवालाई मत दिएको आशंका गरिएको छ । यसले कांग्रेसभित्र महाधिवेशन सम्पन्न भएको दुई वर्षभित्रै नयाँ ध्रुवीकरण सुरु भएको हो कि भन्ने चर्चा चलेको छ ।
शशांक सर्वसम्मत भए आफैं दलको नेतामा उठ्न चाहन्थे । तर, सभापति देउवाले यसपटक आफैं बन्ने घोषणा गरेपछि उनी मौन बसे । नेता रामचन्द्र पौडेल समूहले प्रकाशमान सिंहलाई देउवासँग निर्वाचनमा प्रतिस्पर्धा गरायो । तर, कोइरालालगायत तीनजनाले सिंहलाई मत दिएनन् । यसले अब १४ औं महाधिवेशनमा कांग्रेसमा नयाँ समीकरण बन्ने प्रस्ट छ ।
स्रोतका अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ठूलो दल भएको भए देउवाले अझै एक कार्यकाल सभापति बन्ने चाहना राखेका थिए । तर, निर्वाचनमा अप्रत्यासित पराजयसँगै देउवाले सभापतिमा दोहो¥याउने चाहना राखेका छैनन् । त्यसैले १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार को ? बन्ने भन्ने चर्चा सुरु भएको छ ।
यदि शशांकले पौडेलको समूहमा रहेर सिंहलाई मतदान गरेको भए १४अाैँ महाधिवेशनमा पौडेलले जे भन्थे कोइरालाले त्यही मान्नु पथ्र्यो । अब त्यो झन्झटबाट शशांक मुक्त भएको ठानिएको छ । स्रोतका अनुसार १४ औं महाधिवेशनमा शशांक कोइराला सभापतिको उम्मेदवार बन्नेछन् । उनलाई हालको संस्थापन (देउवा) समूहको साथ र सहयोग रहनेछ ।
शशांक समूहमा विमलेन्द्र निधि, विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, डा.आरजु राणा देउवा, विश्वप्रकाश शर्मा, बालकृष्ण खाँण समावेश हुनेछन् । यदि यस्तो समीकरण बनेमा पौडेल–सिंह समूह कमजोर र अल्पमतमा पर्ने बताइन्छ । देउवाले १४ औं महाधिवेशनमै श्रीमती आरजुलाई पार्टी राजनीतिमा स्थापित गर्ने अभियान सुरु गरेको कांग्रेस नेताहरू बताउँछन् । जसमा हालको कृष्णप्रसाद सिटौला समूहका केही नेता पनि समावेश हुने स्रोतले बतायो ।