फागुन २६, काठमाडौं ।
राजपा अध्यक्ष मण्डलका सदस्यहरुले हाल कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीको रिहाईको माग गरेका छन् ।
नेताहरुले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर रिहाईको माग गरेका हुन् ।
भेटका क्रममा आफूहरुले अनसन बसिरहेका कारण चौधरीको स्वास्थ्यमा खराबी आएकाले गम्भीर बन्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
जवाफमा चौधरीका बारेमा के गर्दा राम्रो हुन्छ भन्दै बादलले राजपाको राय माग गरेका थिए । त्यसपछि राजपाका नेताहरुले रिहाई गरेर चौधरीलाई सांसदको सपथ ढिलाइनुपर्ने बताएका थिए । अत्याधिक बहुमतका साथ चौधरी बिजयी भएकाले जनमतको सम्मान गर्दै सपथको बातावरण मिलाइनुपर्नेमा आफूहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराइएको यादवले बताए ।
राजपाका नेताहरुको कुरा सुनेपछि गृहमन्त्रीले यसबारे आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीसँग सल्लाह गरेर उचित निर्णय लिइने जवाफ दिएको यादवले बताए । गृहमन्त्रीले आफूपनि आन्दोलनबाट आएको पात्र भएकाले चौधरी प्रकरणलाई नजिकबाट बुझिरहेको समेत बताएका थिए ।
भेटमा राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारी, अनिल झा र नेता वृषेशचन्द्र लालको सहभागिता रहेको थियो । अर्का अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव भने अनुपस्थित रहे । राताेपाटी