• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

वैशाख १० गते एमाले-माअाेवादी पार्टी एकताकाे घोषणा, पदको भागबन्डा यस्ताे ?


फागुन २७, काठमाडौं ।

बहुप्रतिक्षित मानिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता घोषणा वैशाख १० गते गर्ने तयारी गरिएको छ । कम्युनिष्ट पार्टी सन् १९४९ अप्रिल २२ तारेख अर्थात् २००६ वैशाख १० मा स्थापना भएको थियो । पार्टी स्थापनाको ऐतिहासिक दिन भएकाले सोही दिन एकीकृत पार्टीको घोषणा गर्ने तयारीसाथ काम थालिएको नेताहरुले बताएका छन् । प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लागि अन्तरिम विधान तथा संगठनात्मक संरचना निर्माण गर्न गठित दुईवटा कार्यदलले गृहकार्यको कामलाई तीव्र पारेका छन् ।

हरेक दिनजसो बैठकहरु बसेर नेताहरुले तीव्र गृहकार्यमा जुटेको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

नेकपा (एमाले) को मुख्यालय धुम्बाराहीमा फागुन १५ गते बसेको बैठकले गृहकार्यमा तिव्रता दिन दुईवटा उपसमिति गठन गरी काम थालेको थियो । दुवै उपसमितिले कार्यदलमा प्रतिवेदन बुझाइसकेका छन् । सोही प्रतिवेदनबारे थप छलफल गर्न शुक्रबार र शनिबार दुई दिन निरन्तर कार्यदलको बैठक बस्यो ।

फागुन २५ गतेभित्र कार्यदलले प्रतिवेदन बुझाउनेगरी दुवै दलका अध्यक्षको निर्देशन रहेपनि कार्यदलले सो समयसीमाभित्र प्रतिवेदन बुझाउन सकेन । नेताहरुको व्यवस्तताका कारण समय अपुग भएको भन्दै गृहकार्यका लागि थप समय माग भएपछि चैत ५ गतेसम्मका लागि कार्यदललाई समय थप गरिएको छ । सो अवधिभित्र कार्यदलले काम सक्ने कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताए ।

घोषणा हुने नयाँ पार्टीको अन्तरिम विधान तथा संगठनात्मक संरचना र राजनीतिक प्रतिवेदन तयार गर्न छुट्टाछुट्टै दुईवटा कार्यदल गठन गरिएको थियो ।

राजनीतिक प्रतिवेदन तयार गर्ने कार्यदलको संयोजकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल छन् । त्यस्तै, अन्तरिम विधानको मस्यौदा तथा संगठनात्मक संरचना निर्माण कार्यदलको संयोजक माओवादी नेता रामबहादुर थापा ‘बादल’लाई जिम्मेवारी दिइएको छ । दुवै कार्यदलमा १०–१० जना सदस्य छन् ।

राजनीतिक तथा वैचारिक प्रतिवेदन तयार गर्न गठित नेपाल नेतृत्वको कार्यदलले प्रतिवेदन मस्यौदाको काम थालेर अन्तिम चरणमा पु¥याएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले बताए ।

“पारित प्रस्तावलाई मस्यौदा गर्ने काम तिव्रताकासाथ भइरहेको छ, थपिएको पछिल्लो समयसीमाभित्र कार्यदलले काम सक्छ,” नेम्वाङले भने ।

माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य देव गुरुङकाअनुसार पनि कामले तिव्रता पाएको छ । शीर्ष नेता तहमा पार्टी घोषणा गर्ने मितिबारे छलफल शुरु भएपनि कम्युनिष्ट पार्टी स्थापना भएको दिनमा पार्टी एकताको घोषणा गर्ने विषयमा कसैको विमति नरहेको उनले बताए ।

एमाले एक नेताकाअनुसार प्रतिनिधिसभा, राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेर त्यस मातहत रहने समितिको सभापतिको चयनपछि मात्र पार्टी एकता घोषणाको आन्तरिक तयारी गरिएको छ ।

संवैधानिक प्रावधानअनुसार अध्यक्ष र उपाध्यक्ष फरक फरक दलबाट हुनुपर्ने भएकाले तत्काल पार्टी एकता घोषणा नगरिएको हो । ती नेताकाअनुसार पार्टी एकता घोषणा पहिले हुने हो भने वाम दलको अध्यक्ष भएमा उपाध्यक्ष स्वतः अर्को दललाई दिनुपर्ने हुन्छ ।

वैशाख १० अघि सबै निर्वाचन सम्पन्न हुने र संघीय संसदको नियमावलीसमेत तयार भई संसदीय समितिको समेत गठन भइसक्ने ती नेताको बुझाई छ । पार्टी एकतामा विलम्ब गर्नुको एउटा कारण त्यो रहेको उनले तर्क गरे ।

नेता वादल संयोजकत्वको अन्तरिम विधान निर्माण गर्ने कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुषाल, सुरेन्द्र पाण्डे र रघुवीर महासेठ सदस्य छन् । त्यस्तै, माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन सदस्य छन् ।

सोहीअनुसार नेता नेपाल संयोजकत्वको राजनीतिक प्रतिवेदन निर्माण कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्तिबहादुर बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल सदस्य छन् । दुवै कार्यदलका सदस्यले तोकिएको जिम्मेवारीअनुसार काम युद्धस्तरमा गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार