• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

महिला हिंसा र रुढीवादी विकृतिविरुद्ध बोलेकै कारण पक्राउ गरेकाे भन्दै कैलाली बन्द


चैत ३, धनगढी।

अाज चैत ३ गते कैलाली जिल्ला बन्द आव्हान गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले कैलाली बन्दको आव्हान गरेको हो । नेकपाले आफ्ना नेताहरुलाई मेयर ममताप्रसाद चौधरीमाथि भएको गोली प्रहारको घटनासँग जोडेर गिरफ्तार गरेको बिरोधमा जिल्ला बन्दको आव्हान गरेको हो ।

मेयर ममतामाथि गोली हानेको आशंकामा प्रहरीले आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरेर झुट्टा मुद्दा लगाई फसाउने प्रपन्च रहेको भन्दै आफ्नो पार्टीले जिल्ला बन्द आव्हान गरेको नेकपा कैलाली इन्चार्ज महान र सेक्रेटरी अमरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रमाणित नभएको घटनामा आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै जारी बिज्ञप्ति मार्फत आपत्ति जनाइएको छ ।

शनिबार जिल्ला बन्द आव्हान गर्दै नेकपा कैलालीले गिरफ्तार गरिएका आफ्ना पार्टीका नेता-कार्यकर्ताको विना सर्त रिहाइको माग समेत गरेको छ। प्रहरी प्रसाशनले आफ्ना नेता-कार्यकर्तालाई थप हिरासतमा राखेर फसाउने सड्यन्त्र गरे थप संघर्षका कार्यक्रम सार्बजनिक गर्ने बताएको छ।
“दलाल राज्य व्यवस्था, भ्रष्ट जनप्रतिनिधि र समाजमा बढिरहेको महिला हिंसा, रुढीवादी विकृतिविरुद्ध बोलेकै कारण फरक राजनीतिक आस्थाका आधारमा पूर्वाग्रह राखि गिरफ्तारी बढाएपछि आफ्ना सयौं नेता कार्यकर्ता घर छोड्न बाध्य भएका छन् । न्यायको पक्षमा उभिन र प्रहरी ज्यादतीको विरोधमा संघर्षको बाटोमा अघि बढ्न बाध्य पारिएको छ” नेकपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बन्दको पूर्वसन्ध्यामा नेकपा कैलालीले शुक्रवार साँझ जिल्लाभरी मशाल जुलुसको आयोजना गरेको छ । बन्दमा सहयोग गर्न जिल्लाका व्यापारी, उद्योगी, पेशाकर्मी, समाजसेवी, नागरिक समाज र बुद्धिजीवी सबैसँग अाग्रह पनि विज्ञप्तिमा गरिएको छ ।

बन्दमा दुध बोक्ने गाडी, एम्बुलेन्स, पानी बोक्ने गाडी, शब बहान र प्रेसका सवारीसाधन भने चल्न पाउने नेकपाले जनाएको छ । आफ्नो पार्टीले हाल शान्तिपूर्णरुपमा आफ्ना मागहरु राखीरहेकोले थप गिरफ्तारी र धरपकड नबढाउन समेत नेकपाले प्रहरीलाई चेतावनी दिएको छ ।

मेयर चौधरीमाथि गोली हानिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेकपाको युवा संगठन योङ रेड फोर्सका केन्द्रीय सदस्य कमल क्षेत्री, घोडाघोडी नगरपालिका सेक्रेटरी भरत शाह, टिकापुर नगर सेक्रेटरी हृदय बोगटी, धनगढी उपमहानगरपालिका सदस्य पुरण खनाललाई गिरफ्तार गरेको छ ।

प्रमाणित नहुँदै घटनाका दोषी भन्दै प्रहरीले पत्रकार सम्मेलन अायोजना गरेरै नेकपाका गिरफ्तार नेता-कार्यकर्ताहरुलाई सार्वजनिक समेत गरेको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार