• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

अन्ततः बुटवल फेरी प्रदेश नं. ५ काे यस्ताे ठाउँ बन्याे ?


चैत ३, बुटवल ।

बुटवल उपमहानगरपालिका फेरि पनि उत्कृष्ट भएको छ । नेपाल नगरपालिका संघले यसपाली बुटवललाई पाँच नम्बर प्रदेशको उत्कृष्ट उपमहानगरपालिकाका रूपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रूपमा लगातार ४ पटकसम्म सम्मान गरेको थियो ।

अहिले नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहका अवसरमा बुटवललाई प्रदेशको उत्कृष्ट नगरका रूपमा सम्मान गरिएको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

नेपाल सरकारका अर्थमन्त्री डा. युवाराज खतिवडाले उत्कृष्ट नगरपालिकाका रूपमा बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । यसअघि बुटवललाई संघले नगदसहित ‘नगरपालिका एक्सिलेन्स अवार्ड’ प्रदान गरेको थियो । त्यसअवसरमा अर्थमन्त्री डा. खतिवडाले सेवाग्राहीमा सुशासनको अनुभूति हुनेगरी अझ प्रभावकारी काम गर्न शुभकामना दिए ।

नगरको वातावरण, सहरी सुशासन, वित्त व्यवस्थापन, समाजिक परिचालन लगायतका विषयलाई मूल्यांकनको आधार बनाएको थियो । सोही आधारमा नगरपालिका संघले यसपालि ७ वटै प्रदेशका नगरहरुलाई मूल्यांकन गरेको संघका कार्यकारी सचिव कलानिधि देवकोटाले जानकारी दिए ।
प्रदेश १ मा झापाको दमक, प्रदेश २ मा धनुषाको गणेशमान नगरपालिका, प्रदेश ३ मा चितवनको भरतपुर महानगरपालिका, प्रदेश ४ मा स्याङ्जाको वालिङ नगरपालिका उत्कृष्ट नगरपालिकाका रूपमा प्रदेश स्तरबाट सम्मानित भएका छन् ।

यस्तै प्रदेश नं.४ मा जुम्लाको चन्दननाथ नगरपालिका र ७ मा कञ्चनपुरको भीमदत्त नगरपालिकालाई प्रदेश स्तरको उत्कृष्ट नगरपालिकाकारूपमा सम्मान गरिएको थियो ।
यसैबीच नेपाल नगरपालिका संघको राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । सबै प्रदेशहरुमा समन्वय समितिहरु गठन गर्दै आउँदो बैशाखमा राष्ट्रिय भेलाको तयारी भइरहेको संघले जनाएको छ ।
यसअघि तुलसीपुरमा ५ नम्बर प्रदेश नगरपालिका संघको भेला भएको थियो ।

भेलाले बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो । प्रदेशभरिका नगरपालिका प्रमुख र उपप्रमुखको भेलाद्वारा गठित समितिको सह–संयोजकमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरेको थियो । प्रकाश आचार्य/लाेकान्तर

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार