• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

पासाङ उपराष्ट्रपतिमा निर्विरोध, यसरी कब्जा भएका थिए ठुले राई


चैत ३, काठमाडौं । 

नन्दबहादुर पुन ‘पासाङ’ दोस्रो कार्यकालको लागि उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार भएको उम्मेदवारी दर्तामा कसैको उम्मेदवारी नपरेपछि पासाङ निर्विरोध भएका हुन् । तर, निर्वाचन अायोगले निर्वाचित भएको  घोषणा भोलि मात्रै गर्ने भएको छ ।

निर्वाचन प्रक्रियाअनुसार दावी विरोधलगायतका प्रक्रिया पुरा भएपछि मात्र अायोगले घोषणा गर्ने भएको छ ।

पासाङको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघी गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् भने समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उपराष्ट्रपतिमा उम्मेदवारी दिएन ।

उपराष्ट्रपति रुकुमको महतस्थित इलाका प्रहरी कार्यालय यसरी कब्जा भएको थियो 

मितिः २०५६ साल आश्विन ५ गते साँझ ।
स्थानः रुकुम जिल्लाको महत गाविसस्थित हाइस्कुलको छात्रावास भवनमा राखिएको इलाका प्रहरी कार्यालयको दंगा (कमाण्डो) बेस–क्याम्प ।
समयः साँझ ९ बजे । वर्षायाम । सिमसिमे पानी परिरहेको अवस्था ।

योजना

पार्टी केन्द्रीय समितिको बैठकले निर्णय गरेबमोजिम पश्चिममा १, २ र ३ नं. प्लाटुन गठन गरियो । देशभरि चलाइएको ‘किलो शेरा टु’ दमन अभियानको प्रतिरोधस्वरूप देशव्यापी धक्कामूलक कारबाही सञ्चालन गर्ने योजनाहरू बने । त्यसैअनुरूप १ नं. प्लाटुन (रोल्पा) र २ नं. प्लाटुन (रुकुम) र केही स्क्वायडहरू केन्द्रीत गरि पश्चिमाञ्चल विशेष उपक्षेत्र अन्तर्गत रुकुममा रेड गर्ने र ३ नं. प्लाटुनले जाजरकोट जगतिपुरमा सेबोटेजमूलक रेड गर्ने क्षेत्रले निर्णय ग¥यो । यसरी धक्कामूलक फौजी कारबाहीको योजना तयार भयो ।

रक्की तथा तयारी

पार्टीको योजनाअनुरूप सर्वे तथा रक्की टोलीको निर्माण भयो । प्रहरीको सम्पूर्ण अवस्थाबारे अध्ययन गर्न रक्की टोली आफ्नो काममा तदारुकताका साथ खट्यो । यस क्रममा रक्की टोलीले रोल्पाको पाखापानी, रुकुमको काँक्री र महत गरी तीनवटा प्रहरी पोष्ट तथा क्याम्पको अध्ययन गर्यो । त्यसमध्ये महतस्थित प्रहरी बेसक्याम्प डिएसपीको कमाण्डमा रहेको थियो । बाँकी क्याम्पहरू इन्सपेक्टरको कमाण्डमा रहेका थिए । दुश्मनको क्रुर ‘किलो शेरा टु’ अप्रेसनको काउन्टर गर्न पार्टीद्वारा फौजी कारबाहीको योजना तय गरिएको थियो । उक्त क्याम्पमाथिको फौजी धक्काले निश्चित रूपमा योजनाको मर्म र उचाइलाई पकड्न सक्थ्यो । त्यहाँको भौगोलिक स्थिति पनि हाम्रो अनुकुल थियो । त्यसकारण महतको प्रहरी पोष्टलाई आक्रमणको प्वाइन्त्ट छनौट गरियो ।

रात र दिउँसो गरी सम्पूर्ण वस्तुगत तथा भौगोलिक अवस्थाको अध्ययन कार्य पूरा भयो । आन्तरिक रिपोर्टका लागि स्थानीय पार्टीलाई परिचालन गरियो । सोहीअनुसारको क्याम्पिङ तयार गरी अन्य प्राविधिक तयारी आवश्यक युद्ध–सामग्री, ग्रेनेड, माइन, एफजी, टिएमजी बम र रस्सी तथा अन्य व्यवस्थापनको सम्पूर्ण सामान तयारी गरियो ।

भौगोलिक बनावट

रुकुमको महतको महत गाउँमा उक्त प्रहरी बेस क्याम्प रहेको थियो । क्याम्प रहेको डाँडा पूर्वतिरबाट पश्चिमतिर झरेको थियो । त्यसको दायाँ–बायाँ साइडतिर दुईवटा खोला थिए । पश्चिमतिर घटना बस्ती छ । त्यसको तलतिर मकैबारीहरू थिए । उत्तरतिर मकैवारी हुँदै तल खोलातिर ओरालो झरेको बाटो ।

दक्षिणतिर पनि ५÷६ वटा घरहरू थिए । त्यहाँ क्याम्पको ठीक तल थबाङ हुँदै आएको थबाङखोला थियो । पूर्वी भागमा एउटा ठूलो हाइ स्कुल थियो । त्यो भागमा केही घरहरू थिए । अलि माथि नाङ्गो डाँडा । त्यसपछि ठूलो जंगल, पश्चिमतिर एउटा बाटो र सानो बजार थियो । त्यहाँ हेल्थ पोष्ट थियो । त्यसको नजिकै ठूलो गाउँ थियो । त्यहाँबाट अलि तल दोमै बजार पर्छ । चारैतिरबाट नजिकै जान सकिने भौगोलिक धरातल थियो ।

क्याम्पको बनावट

प्रहरी महतको हाइ स्कुलको छात्राबास भवन जबर्जस्ती कब्जा गरेर बसेको छ । छात्रावास भवन ढुङ्गाले छाएको छ । घर ठूलो भएपनि एक तले मात्र थियो । घरभित्र गल्ली थियो । त्यो गल्लीबाट दायाँ–बायाँ कोठामा पस्ने ढोकाहरू । उक्त छात्रावासमा जम्माजम्मी १० ओटा कोठा थिए । पूर्व–पश्चिम मोहडा भएको घरको उत्तर र दक्षिण साइडमा पूरै झ्याल थिए । पूर्व र पश्चिमबाट १÷१ वटा ढोकाको निकास थियो ।

पश्चिमतिर त्यसको नजिकै हेल्थ पोष्ट भवन र पर्खाल लगाइएको एउटा घर थियो । त्यसमा मेस सञ्चालन गरिन्थ्यो । घरको चारैतिर बंकर बनाइएको थियो । पश्चिममा २ वटा बंकर तथा सेन्ट्री पोष्ट थिए । पूर्वी साइडमा २ वटा बंकर तथा सेन्ट्री पोष्ट बनाइएको थियो । बाटोको साइडमा बाँसको बार लगाइएको थियो । पूर्वी र दक्षिण साइडमा गाह्रो लगाएर फायरिङ कभर र प्वाल बनाइएको थियो ।

पूर्वी र पश्चिमी दिशातिरको बाटोमा प्रहरी राति एम्बुस बस्ने र बाटोमा गस्ती गर्ने गथ्र्यो । यो उसको दैनिक कार्य थियो । त्यहाँबाट २ घण्टाको दुरीमा थबाङ । थबाङमा पनि प्रहरीको बेसक्याम्प थियो । सोही दुरीमा रुकुमकोटमा एउटा इलाका प्रहरी क्याम्प थियो । त्यस्तै साढे १ घण्टाको दुरीमा काँक्रीमा ठूलो बेस–क्याम्प थियो ।

प्रहरीको संख्या तथा हातहतियार

उक्त प्रहरी बेस–क्याम्पमा डीएसपी ठूलो राईको कमाण्डमा २७ जना दंगा प्रहरी फोर्स थियो । सबै सशस्त्र थिए ।

हाम्रो संख्या तथा हातहतियार

हाम्रो १ नं. र २ नं. प्लाटुन थियो । त्यस्तै रोल्पा, रुकुम र सल्यानको सेलेक्टेड स्क्वायड फोर्स र स्वयंसेवक गरी जम्मा सहभागी संख्या १६६ जनाको थियो । हतियार ६ थान, थ्रिनटथ्रि राइफल, १ थान बाह्रबोर, भरुवा, ग्रेनेड, माइन आदि ।

उद्देश्य तथा लक्ष्य

उनीहरूको बेसक्याम्प ध्वस्त बनाउने, डीएसपी ठुले राईलाई कब्जा गरेर ल्याउने,सम्पूर्ण हातहतियार कब्जा गर्ने, आत्मसमर्पण गरेकालाई राजनीतिक कक्षा दिएर छाड्ने, फटाहा र सुराकीको सफाया गर्ने, भिडन्तमा मरेकाबाहेक अरू कसैलाई नमार्ने र घाइते दुश्मनलाई उपचार गरेर छाड्ने कामलाई पार्टीको मुख्य उद्देश्य बनाएको थियो ।

कारबाहीका लागि शक्ति–विन्यास

दुश्मनको सुरक्षात्मक व्यवस्था र भौगोलिक अवस्थालाई मध्यनजर गरेर निम्नअनुसारको शक्तिविन्यास तथा गु्रप विभाजन गरिएको थियोः

एसल्टमा गु्रप १६ वटा– १६×४=६४ जनाको ।
मुख्य कमाण्डो गु्रप २ वटा– २×४= ८ जनाको ।
माइन ग्रुप २ वटा– २×४=८ जनाको
रिजर्भ गु्रप २ वटा– २×६= १२ जनाको
एचपी तथा एचक्यु गु्रप २ वटा– २×६= १२ जनाको ।
स्टप गु्रप ५ वटा– ५×४= २० जनाको

यसरी कुल सहभागी संख्या १६६ जनाको थियो, जसमा १४ जना महिला हुनुहुन्थ्यो ।
बाँकी फोर्स थबाङ र रुकुमकोटको दु्श्मनलाई ‘फल्स’ गर्न गएको थियो । त्यसमा गु्रप २ वटा ७×२= १४ जनाको सहभागिता थियो र एम्बुस गु्रप २ वटा– २×७= १४ जनाको टिम थियो ।

वारिपारिका जनताबाट अरू बाँकी कामको रूपमा नारा लगाउन र मशाल जुलुस प्रदर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।

कोचिङ सम्पूर्ण कारबाहीको योजनाअनुसार एसल्ट गु्रप र अन्य गु्रप गरी २ चरणमा कोचिङ सम्पन्न गरियो । नक्सामाथि कोचिङ गरियो । कोचिङमा धक्काको आवश्यकता र महत्व, राजनीतिक र फौजी धक्काको आवश्यकता, दुश्मनको ‘किलो शेरा टु’ दमन अभियानको प्रतिरोधस्वरूप गर्न लागिएको आक्रमणको महत्व, ब्याटलमा प्रयोग गरिने रणकला, त्यसको सैद्धान्तिक र व्यवहारिक पक्ष, प्रत्येक गु्रपको ठोसठोस जिम्मेवारी र भूमिका, सरप्राइज कला तथा कोठा खाली गर्ने तरिका, अफेन्स–डिफेन्स, ब्याटल कोड र मार्चिङ तथा फर्मिङ प्वाइन्ट, स्टार्टिङ ल्यानसम्म पुग्ने आदि सबै कुराबारे ठोसठोस कोचिङ भयो । रिट्रिट तथा आरभिमा फिर्ता हुँदा अपनाइने सुरक्षात्मक कारबाहीबारे पनि कोचिङ भयो ।

मुभ तथा मार्च

कोचिङ सकिएपछि हतियार तथा युद्ध–सामग्री सबै बाँडफाँट गर्यौं । सबै कुरा मिलाएर सम्पूर्ण टिमले खाना खाए । साँझको ५ बज्यो । सबै टोली अन्तिम सेल्टरबाट जंगलैजंगलको बाटो हिँडे । अन्तिम सेल्टरबाट दुश्मन भएको ठाउँ पुग्न ३ घण्टा लाग्दथ्यो ।

करिब २ घण्टा हिँडेपछि जंगलमै एकछिन रोककाल गरियो । रोलकालमा कमाण्डर र कमिसारको तर्फबाट अन्तिम आदेशस्वरूप सम्बोधन गरियो । सम्पूर्ण टोली उत्साहपूर्वक अनुशासित र शान्त भावका साथ अगडाडि बढे ।

फर्मिङ प्वाइन्टबाट गु्रप दुई भागमा विभाजित भो । दुई साइड (दायाँ र बायाँ तथा उत्तर र दक्षिण) बाट घेरा हाल्नुपर्ने भएकोले सोहीअनुसार गुप्र विभाजन भयो । क्याम्प नजिक पुग्नै लाग्दा सिमसिम वर्षाको सुरुआत भयो । त्यसले गर्दा नजिक जान धेरै मद्दत ग¥यो । नजिकै पुग्दासमेत पनि उनीहरूले केही थाहा पाएनन् । बाहिर सेन्ट्री बसेकाहरू ‘हिम्मत छ भने आइज माओवादी’ भन्दै कराइरहेका थिए । हामीले केही समयपछि उनीहरूमाथि आक्रमण गर्दैछौं भन्ने कुरा उनीहरूलाई थाहा नभएर नै होला धम्की दिएको विचराहरुले । उनीहरू सदाझै आफ्नै तालमा बेसुरमा हामीलाई गाली गर्दै कराइरहेका थिए ।

कार्यान्वयन तथा कारबाहीः

सिमसिम पानी परिरहेको थियो । हाम्रा सबै गु्रप स्टार्टिङ लाइनमा पुगिसकेका थिए । उनीहरूलाई हामीहरू आइपुगेको पटक्कै थाहा थिएन । उनीहरू आफ्नै तालमा ‘ल माओवादी आ’ भन्दै कराउँदै थिए । सुरुमा पश्चिम–दक्षिण साइडको बंकरको सेन्ट्रीलाई ढाल्ने योजना थियो । योजनाअनुसार निर्धारित समयमा फायर खोलियो । उनीहरू मध्ये कोही बल्ल खाना खान बसेका रहेछन् । चारैतिरबाट जोडदार फायर खोलियो ।

फायर खोलिएपछि उनीहरूमध्ये कोही ठूलो घरभित्र र कोही भान्साकोठाभित्र पसे । कसैले बंकरबाटै प्रतिरोध गर्ने दुश्साहस गरिरहे । कमरेडहरूले तीव्र गतिमा अफेन्स गर्नुभयो । उहाँहरूले बंकरमा रहेका प्रहरीलाई बंकरमै घोचेर ढाल्नु थाल्नुभयो । आधा घण्टाभित्र बाहिरका सबै बंकरहरु कब्जा भए । तर, केही प्रहरीहरू भित्रबाटै लड्न थाले । खाना खान मेस र हेल्थ पोष्टमा भएका प्रहरीहरूले आत्मसमर्पण गर्न सुरु गरे । अब भित्रका प्रहरीहरू मात्रै बाँकी रहे ।

मुख्य पोष्टमा झ्याल फोर्दै भित्र ग्रेनेड र आगो लगाउन सुरु गरियो । आगो लगाउन थालेपछि क्रमशः अरूले पनि आत्मसमर्पण गर्न थाले । तर, डीएसपी ठुलेले अन्तिम समयसम्म पनि आत्मसमर्पण गरेन । अन्तिममा उसकै पुलिसलाई ल्याउन पठाइयो । ‘हामी मार्दैनौं, हात उठाएर बाहिर आउनुस्’ भनेपछि उसलाई उसकै पुलिसले मसातेर ल्यायो । ऊ दुवै हातमाथि उठाएर बाहिर आयो ।

करिब डेढ घण्टाको अवधिभित्र सबै कब्जा भयो । सबै कोठा सर्च गरिसकेपछि घाइते पुलिसलाई औषधि उपचार गरियो । बाँकी प्रहरीलाई एउटा कोठामा जम्मा गरी राजनीतिक प्रशिक्षण दिएर जेनेभा सन्धिअनुसार छाडियो । डीएसपी ठूले राईलाई युद्धबन्दीको रूपमा गिरफ्तार गरी सम्मानपूर्वक साथैमा लगियो । उनीहरूसँग बस्ने स्थानीय कुख्यात फटाहा तथा सुराकीहरूलाई भने सफाया गरियो ।

मूल्याङ्कन

जनयुद्ध थालनी भएदेखि त्यतिबेलासम्मको उपलब्धिमा यो एउटा ऐतिहासिक कारबाही थियो, जहाँ विना क्षति शानदार विजय हासिल भयो । त्यो फौजी कारबाहीले राज्यसत्तालाई ठूलै धक्का दिन सफल भयो । यस कारबाहीले ‘किलो शेरा टु’ अभियानको राम्रो प्रतिरोध गर्यो । यसले गर्दा सो अभियान पूर्णतः असफल भयो । त्यस अभियानलाई कारबाहीबाटै नाकाम बनाइएको पनि मूल्याङ्कन निष्कर्ष निक्लियो ।

प्रतिक्रियावादीहरूको कित्तामा ठूलो खैलाबैला मच्चाउने काममा यो कारबाहीले ठूलो भूमिका खेल्यो । यसले गर्दा उनीहरूको अन्तरविरोध नयाँ ढंगले उत्पन्न हुने स्थिति देखाप¥यो । हाम्रो पार्टीभित्रको अन्तरसङ्घर्ष हल गर्नका लागि पनि यो कारबाहीले ठूलो भूमिका खेल्यो । फौजी रूपमा पनि यसले नयाँ ढोका खोल्ने काम ग¥यो । यसमा प्राविधिक रूपमा पनि ठूलो उपलब्धि हासिल भयो । सर्वे र प्वाइन्ट छनौट वस्तुनिष्ठ रहेको र योजना बुद्धिमत्तापूर्वक बनेको निष्कर्ष मूल्याङ्कनबाट निस्कियो । यसबाट जनतामा नयाँ ढंगको उत्साहको लहर पैदा गर्ने काम भयो । स्थानीय सत्ता खाली हुन सुरु भएको निष्कर्ष पनि निस्कियो ।

कमीकमजोरी

ठूला गम्भीर खालका कमजोरीहरू नरहेतापनि केही सानातिना कमजोरी अवश्य रहन गए । तिनलाई निम्न प्रकारले देखाउन सकिन्छः

सेट तथा सिक्वेन्समा फाइट हुन नसक्नु ।
झ्यालढोकामा प्रभावशाली फायर गरी प्रहरीहरू दबाउन नसक्नु, जसका कारण २ जना कमरेडहरू घाइते हुनु ।
सर्च प्रक्रिया राम्रोसँग गर्न नसक्नु, जसका कारण केही हतियार छुट्नु ।
सर्च कार्यमा भद्रगोलपन आउनु, कब्जापछि साथीहरू अनुशासनमा नबस्नु, सुरक्षालाई ख्याल नगर्नु ।
शंकास्पद घर तथा ठाउँहरू सर्च नगर्नु, जसका कारण मुख्य सुराकी बच्नु ।
सूचना–सञ्चारको तालमेल तथा कोअर्डिनेसन हुन नसक्नु ।

सरकारी प्रचारबाजी

रेडियो नेपालको समाचारमा भनियो, ‘गए राति करिब ६ हजारको संख्यामा आएका आतंककारी समूहले रुकुम जिल्लाको महतस्थित जनताको सुरक्षार्थ रहेको इलाका प्रहरी चौकीमाथि कायरतापूर्वक आक्रमण गरी ६ जना प्रहरी जवान र १ जना सर्वसाधाण नागरिकको निर्ममतापूर्वक हत्या गरेका छन् । आतंककारीहरूले डिएसपी ठूले राईलाई बेपत्ता परेका छन् । सुरक्षाकर्मीको गोलीबाट सयौंको संख्यामा आतंककारीको हताहत भएको छ ।’

त्यस्तै बीबीसीले फुक्यो, ‘हजारौंको संख्यामा आएका माओवादी विद्रोहीहरूले रुकुम जिल्लाको महतस्थित प्रहरी चौकीमाथि आक्रमण गरी चौकीमा रहेका सम्पूर्ण हातहतियार लुटेर लगेका छन् । भिडन्तमा ९ जना प्रहरीको मृत्यु भएको छ भने डीएसपी ठुले राईलाई गिरफ्तार गरेर माओवादीहरूले लगेका छन् । विद्रोहीतर्फ के कति क्षति भयो, त्यसको कुनै पुष्टि हुन सकेको छैन । उनीहरूको खोजी कार्यका लागि ठूलो मात्रामा सुरक्ष संयन्त्रलाई परिचालन गरिएको सरकारी सुरक्षा अधिकारीहरूले बताएका छन् । केही दिनमा नै डीएसपी ठूले राईलाई मुक्त गराउन सकिने कुरा रक्षा मन्त्रालयले बताएको छ ।’

अन्य पत्रपत्रिका तथा सरकारपक्षीय मिडियाले घुसपैठियाका कारण प्रहरीहरूले हतियार बुझाइदिए भनेर ठूले राईलाई आरोप पनि लगाए । ती पत्रपत्रिकाहरूले ठूले राई माओवादीको मान्छे हो भनेर किटानी गर्ने निचता समेत पनि प्रदर्शन गरे ।

  • इतिहासका रक्तिम पाइलाबाट

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार