• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सभामुख महराका ज्वाई मेयर केसीकाे राजीनामा माग गर्दै पत्र, बेवास्ता गरे यस्ताे चेतावनी


चैत ५, राेल्पा ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराका ज्वाई एवं रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीलाई आफ्नो पदबाट राजीनामा दिन पत्र काटिएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीं जिल्ला जनपरिषद् रोल्पाले मेयर केसीलाई आफ्नो पदबाट राजीनामा दिन दबाब स्वरुप पत्र काटेकाे हाे । केसीको कार्यकक्षमै पुगेर एउटा सानो घर लुट्नेलाई कारागार र सिंगो राष्ट्र लुट्नेलाई सिंहदरबारको शासक बनाउने यो सत्ताले शहीद तथा बेपत्ताको सपना, उनीहरुको परिवारको आँसुको क्षतिपूर्ति गर्न नसक्ने भन्दै जनपरिषद् रोल्पाले राजीनामा माग गरेको हो ।

पत्रमा लेखिएकाे छ- “अहंकार, अराजकता, छलकपट, अन्याय, बेथिति, अपारदर्शी एवं अन्योलता सिर्जना गर्ने तपाईंको शासनको आयु लामो हुँदैन। जनता अभाव खप्न सक्छन्, अपमान सहन सक्दैनन् त्यसैले अपमानबाट निष्केको आक्रोश भयानक हुनसक्छ । त्यसबेला पश्चाताप गरेर बस्नुबाहेक कुनै उपाय बाँकी रहने छैन ।” गाउँगाउँमा मन्त्री, सांसद भएर जनताबाट चर्को कर असुल गरेकोमा पत्रमार्फत कडा आक्रोश व्यक्त गर्दै दलाल र भ्रष्टहरुलाई रिझाउने र जनतालाई कज्याउने दु:स्वप्न त्यागेर राष्ट्र र जनताको हितमा काम गरेर मात्रै जनताका साथी ठहरिन पत्र मार्फत अपील गरिएको छ ।

वैज्ञानिक समाजवादको आधार तयार भएको दावी गर्दै जनपरिषद् रोल्पाले चाँडै राजीनामा गरेर जनताको सरकारलाई सहयोग गर्न आग्रह गर्नुका साथै उक्त आग्रहलाई बेवास्ता गरे सम्पूर्ण परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार