• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

भारतीय राजदूतले एकै दिन नेपालका चार मन्त्रीलाई भेटेपछि…


चैत ६, काठमाडौं ।

वर्तमान सरकारका मन्त्रीहरूले विदेशी प्रतिनिधिहरूसँगको भेटमा कूटनीतिक आचारसंहिता पालना नगरेको भन्दै तीव्र आलोचना भएको छ । भारतीय राजदूत मञ्जिभसिंह पुरीले सोमबार सिंहदरबारमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

कूटनीतिक आचार संहिता २०६८ मा, मन्त्रीसहितका उच्चसरकारी अधिकारीले कुनै पनि विदेशी सरकारका प्रतिनिधिहरूसँग भेट गर्नुपूर्व परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका अधिकारीलाई आमन्त्रण गर्नुपर्ने व्यवस्था छ । तर, भारतीय राजदूत पुरीले आफूखुसी मन्त्रीहरूलाई भेट्दै आएका छन् ।

सोमबार भारतीय राजदूत पुरी र चारजना मन्त्रीबीच भएको छुट्टाछुट्टै भेटमा परराष्ट्र मन्त्रालयको आचार संहिता पालना भएको देखिएन । पूर्वराजदूत जयराज आचार्य यो घटनालाई कूटनीतिक लापरबाही भएको बताउँछन् । ‘मर्यादा पालना गर्नुपर्ने काम नेपाली पक्षले नै हो । यसमा हाम्रो राजनीतिक नेतृत्व वर्ग कूटनीतिक संवेदनशिलताबारे अनभिज्ञ रहे जस्तो अथवा लापरवाही गरिरहेको जस्तो देखिन्छ,’ उनले भनेका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले त्यसलाई अचानकको भेट भनी बचाउ गरेका छन् । उनको भनाइ छ, ‘यो बधाई दिने कार्यक्रम रहेको र मन्त्रालयमा नै आउने भनिसकेपछि हामीले स्विकारेका हौं । अरू केही होइन ।’ भारतीय राजदूतसँगको भेटमा मात्रै होइन, अन्य मुलुकका राजदूत र विदेशी पाहुनासँगको भेटमा पनि नेपाली उच्चअधिकारीले कूटनीतिक आचारसंहिता पालना गरेको पाइँदैन । त्यस्ता भेटमा परराष्ट्रका प्रतिनिधि राख्न नसकेको अवस्थामा कुराकानीको संक्षिप्त टिपोट पराष्ट्र र सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था छ । तर त्यो पनि पालना भएको देखिंदैन ।

केही दिनयता प्रदेश मुख्यमन्त्रीसँग पनि विदेशी राजदूत तथा प्रतिनिधिहरूको भेट तीव्र रूपमा बढेको छ । परराष्ट्रसम्बन्धी जानकारहरूलाई विदेशी शक्तिकेन्द्रको अस्वाभाविक चलखेल भएको बताउँछन् ।

प्रकाशित मिति : २०७४ चैत्र ६ गते मङ्गलवार