चैत ९, नुवाकोट ।
दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो ।
तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।
भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनैजना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत पुस ७ गते पक्राउ गरी मानव बेचबिखनको मुद्दा काठमाडौँ जिल्ला अदालतमा समेत दायर गरेको थियो ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दाका आरोपित अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने मुल्तवीमा राखिएको छ । उनीहरु हाल फरार छन् ।
कहाँ–कहाँ छन् कोठी ?
प्रहरीका अनुसार तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् । पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् ।
‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङले भने ।
विष्णुका अनुसार सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्,’ विष्णुले भने ।
मुद्दा खेपिरहेका वेला कांग्रेसबाट विजयी
स्थानीय निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसबाट निर्वाचित ४९ वर्षीय तामाङ मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा खेपिरहेका थिए । मानव बेचबिखनमा संलग्न भएको भन्दै ५ वैशाख ०७१ मा नुवाकोट जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित ३७ वर्षीया एक महिलाले तामाङसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।
१० महिनाअघि पक्राउ परेका तामाङ ६ लाख धरौटी राखी रिहा भएका थिए । ३१ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर उनी निर्वाचित भएका थिए । सो मुद्दामा तामाङले जिल्ला अदालत विदुरमा आफैँ उपस्थित भएर मासिक रूपमा पेसी लिइरहेको जिल्ला अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले बताए । तामाङको अर्को तारेख आगामी ११ पुसमा छ ।
यस्तो छ सुनबहादुरको विगत
०५३ मा प्रहरीले सुनबहादुरसहित चारजनालाई झापाको काँकडभिट्टामा नियन्त्रणमा लिएको थियो । उनीहरूले नुवाकोट घ्याङफेदीका चार नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत लैजाँदै थिए । सुनबहादुरसहित तीनजना प्रहरीको आँखा छलेर फरार भए । प्रहरीले निमा लामा तामाङलाई पक्राउ ग¥यो । अदालतको आदेशबाट निमा जेल चलान भए । सोही मुद्दामा नुवाकोट जिल्ला अदालतले २६ असोज ०६८ मा सुनबहादुरलाई ६ वर्ष कैद सजायसहितको फैसला सुनायो । तर, उनी फरार नै रहे ।
नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के । उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरविरुद्ध उजुरी गरे । प्रहरीले उनलाई पक्राउ प¥यो । तर, अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा उनी छुटे । त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन् ।
छोरा पनि मानव बेचबिखनमा सजाय भोग्दै
प्रहरीका अनुसार उनका छोरा रमेश तामाङ पनि मानव बेचबिखनमा संलग्न छन् । उनी अहिले मानव बेचबिखन मुद्दामा नुवाकोटस्थित कारागारमा सजाय भोगिरहेका छन् ।