• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

प्रचण्ड प्रधानमन्त्री हुँदा राजदूतबाट वञ्चित भएकी उपसभामुख शिवमायाले एमाले छाड्नुको कारण यस्तो छ ?


चैत १३, काठमाडौं ।

प्रतिनिधिसभा उपसभामुख डा.शिवमाया तुम्वाहाम्फेले सोमबार नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिइन् । उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै पार्टी सदस्य नरहेको जानकारी गराएकी थिइन् ।

पहिलो पटक ओली प्रधानमन्त्री बन्दा राजदूतमा सिफारिस भएकी तुम्वाहाम्फेलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि राजदूत नियुक्ति खारेज गरेका थिए । त्यसपछि उनी राजदूत बन्नबाट वञ्चित भएकी थिइन् । तर, ओलीले यसपटक उनलाई प्रतिनिधिसभाकै उपसभामुख बनाइदिए ।

तुम्वाहाम्फेले किन एमाले छाडिन् त भन्ने विषयमा यतिखेर विभिन्न चर्चा परिचर्चा सुरु भएको छ । उनले एमालेको सांसद र पार्टी छाड्नुको रहस्य उपसभामुख पद सुरक्षित गर्नु रहेको छ । संविधानमा प्रतिनिधिसभा सभामुखमा लैंगिक समानता हुनुपर्ने, महिला सभामुख भए उपसभामुख पुरुष र पुरुष सभामुख भए महिला उपसभामुख । त्यति मात्र होइन, सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

निकट भविष्यमै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैछ । पार्टी एक भएपछि सभामुख र उपसभामुख पनि एउटै दलका हुनेछन् । अहिले सभामुख कृष्णबहादुर महरा छन् । उनी माओवादी केन्द्रका नेता हुन् ।

एमाले र माओवादी केन्द्रले पार्टी एकतापछि ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम प्रस्तावित गरेका छन् । त्यही भएर भोलि एउटै पार्टी बन्ने भएपछि उपसभामुख पद सुरक्षित गर्न डा.तुम्वाहाम्फेले एमाले छाडेको बताइन्छ । भोलिका दिनमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि कसैले अदालतमा सभामुख र उपसभामुख पद एउटै पार्टीको भएकाले खारेज गरी पाउँ भनी मुद्दा हालेमा संविधानअनुसार महरा र तुम्वाहाम्फेको पद धरापमा पर्ने भएकाले एमाले नेतृत्वकै सल्लाहमा उनले पार्टीबाट राजीनामा दिएको स्रोतले बतायो ।

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार