चैत १४, काठमाण्डौँ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गाई काटेर मासु खानेहरु नेपाली हुन नसक्ने बताएका छन् । उनले गाई राष्ट्रिय जनावर भएकोले नेपालीले काटेर मासु खान नसक्ने कोइरालाले बताए ।
मंगलबार संवाद डबलीमा बसन्तश्रीद्वारा लेखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा बोल्दै डा. कोइरालाले भने,“काटेर मासु खाने वा नखाने भन्दापनि गाई राष्ट्रिय जनावर हो, कुरा प्रष्ट छ, राष्ट्रिय जनावरलाई काटेर खानेहरु नेपाली हुन सक्दैनन्” नेता कोइरालाले भने । ८० प्रतिशत हिन्दू भएको देशमा गाई काटेर खान्छु भन्नु जातीय द्वन्द्व बढाउने नियत भएको कोइरालाले बताए । उनले गाई काटेर मासु खानु हिन्दू धर्मालवम्बीको आस्थामाथि हमला गर्नु भएको दाबी गरे ।
काँग्रेस नेता कोइरालाले अन्तरिम संविधान निर्माणको बेला माके अध्यक्ष प्रचण्डले गाईलाई राष्ट्रिय जनावर स्वीकार नगरेको तर गिरिजाप्रसाद कोइरालाले हकारेपछि तयार भएको प्रसंगमा पनि कोट्याएका थिए ।
नेता कोइरालाले ईयूको चुनावी प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यमा आएको भन्दै विरोध गर्नुपर्ने बताए । “कुरा प्रष्ट छ, इयूले जातीय युद्ध निम्त्याउँने उद्देश्यले प्रतिवेदन तयार गरेको छ, त्यसको सबैले विरोध गर्नुपर्छ” कोइरालाले भने । उनले आर्थिक अवस्था कमजोर भएका खस, आर्यलाई पनि आरक्षणको कुरा गरिएको बताउँदै त्यसमा ईयूले सुझाव दिन नसक्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका अंगहरुलाई अलगथलग बनाएर निरंकुशताको अभ्यास गरिरहेको आरोप लगाउँदै डा. कोइरालाले भने, “प्रदेशदेखि केन्द्रसम्म कम्युनिस्टकै बहुमत छ तरपनि ओलीले जीले सबै शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ । शक्तिको पृथकीकरणको बेवास्ता गरिँदैछ । अब विस्तारै मिडियामाथि सन्सर लगाईनेछ ।” उनले राष्ट्र र लोकतन्त्र अप्ठ्यारोमा परेको बताउँदै ओलीको निरंकुशतालाई स्वीकार नगर्ने बताए । चुनावमा भएको हारबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भएको जानकारी दिँदै डा. कोइरालाले कमजोरीलाई सच्चाएर जान सबै सहमत भएको बताए । उनले केन्द्रीय समिति बैठकपछि विधान संशोधन समिति बनाएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताए । पुस्तकले हुम्लाको मात्र नभएर भाषा र संस्कृतिलाई उजागार गरेको बताउँदै नेता कोइरालाले लेखकलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही, प्रा.डा. प्रेम शर्मा, डा. नारायण गडतौला, डा. दीपेन्द्र रोकाया, समाजसेवी बसन्ती शाहीलगायतले हुम्ली भाषामा लेखिएको पुस्तकमाथि चर्चा गरेका थिए । उनीहरुले पुस्तकले हुम्ली भाषा र संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने विश्वास गरेका थिए । पुस्तकका लेखक बसन्त रोकायाले साहित्य समाजको चित्र र चरित्र, भाषा मानिसको पहिचान र प्राण भएको बताउँदै त्यसमा ईटा थप्ने प्रयास गरेको बताए ।
नेपाल तामाङ घेदुङले गाई काटेको अारोपमा मुद्दा खेपीरहेका नुवाकोटका स्थानीयलाई न्याय दिनु पर्ने भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएसँगै ‘गाईकाण्ड’ सुरु भएको हो । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर सामाजिक संजाल र संचारमाध्यमहरुमा समाचार भाइरल भएसँगै नेताहरुले सार्वजनिक रुपमै प्रतिक्रिया दिन थालेका छन् । उद्यापी तामाङले अाफूले गाईलाई काट्न पाउनु पर्ने नभनेको तर अन्याय कसैमाथि हुन नहुने बताएकी छन् ।