• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

काम गरेको ज्याला माग्दा बाजुरामा वडाध्यक्षद्वारा कुटपिट, नवजात शिशुको मृत्यु


चैत १४, बाजुरा ।

बाजुराको जगन्नाथ गाउँपालिका–६ का वडाध्यक्ष कटकबहादुर विष्टले स्थानीय एक व्यक्तिलाई कुटपिट गरेका छन्।

स्थानीय लघु जलविद्युत् आयोजनामा काम गरेको ज्याला माग्दा स्थानीय मनबहादुर विष्टलाई कुटपिट गरेको स्थानीयवासीले बताएका छन्। भुकाखोला लघु जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहेका कटकबहादुरले अाफूलाई निर्घात कुटेको मनबहादुरले बताए। ‘गाउँमा रहेको भुकाखोला लघु जलविद्युत् निर्माण भएको लामो समय बितिसक्दा पनि पारिश्रमिक पाइनँ’, उनले भने, ‘ज्याला माग्न जाँदा वडाध्यक्षले गोठमा लगी हातखुट्टा बाँधेर कुटपिट गरे।

वडाध्यक्षको कुटाइको खबरपछि पिलुचौर प्रहरी चौकीको टोलीले घाइते मनबहादुरलाई उपचारका लागि जिल्ला सदरमुकाम मार्तडी लगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। मनबहादुरले मदिरा खाएर गालीगलौज गरेकाले हातखुट्टा बाँधेको तर कुटपिट नगरेको वडाध्यक्ष कटकबहादुरले बताए।

नवजात शिशुको मृत्यु 

बाजुराकै बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा नवजात शिशुको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा बेवारिसे अवस्थामा उक्त शिशुको शव फेला परेको हो।

शव भेटिएको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। उनका अनुसार शव परीक्षण गरी दाहसंस्कार गरिएको छ।

नवजात शिशु बेवारिसे अवस्थामा किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीको भनाइ छ। शिशु फाल्ने महिलालाई थप अनुसन्धानका लागि जिल्ला अदालत बाजुराबाट म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ। रासस

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार