चैत १४, काठमाडौं ।
व्यापारिक विवाद बढेका बेला उत्तर कोरियाका शासक किम जोन उन सुटुक्क चीन पुगेको घटनालाई अमेरिकाले ‘संशयपूर्ण’ मानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच हुने भनिएको वार्ता पूर्व परम्परागत रुपमै प्योङयाङका अन्तर्राष्ट्रिय वार्ताको मध्यस्तता गर्दै आएको वेजिङले किमलाई खुला हृदयले स्वागत गरेको छ । तर, अमेरिका भने परमाणु परीक्षणका विषयमा बन्ने साझा धारणामा तुसारापात हुने हो कि भन्ने चिन्तामा देखिएको छ ।
अमेरिकी सञ्चारमाध्यमले मंगलबार उत्तर कोरियाका शासक किम बेइजिङ पुगेको शंका गरेका थिए । तर, बुधवार वेजिङ र प्योङयाङले किमको चीन भ्रमण पुष्टि गरेपछि अमेरिका उत्तरसँग हुने भनिएको वार्तामा थप सशक्त हुनुपर्ने निश्कर्षमा पुगेको बताइन्छ ।
केही साताअघि बौद्धिक चोरी गरेको भन्दै अमेरिकाले चीनमाथि नाकाबन्दीसहित निर्यातमा पैंतालिस प्रतिशत शुल्क लगाउने चेतावनी दिएको थियो । अमेरिका र चीनको विवाद व्यापारिक युद्धमा पुग्न सक्ने आशंका गरिएका बेला किम सुटुक्क बेजिङ पुगेको घटनाले अमेरिकामाथि थप दबाब बढाएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका शासक किमबीच हुने भनिएको भेटलाई अमेरिकाले प्राथमिकता दिँदै आएको थियो । ट्रम्प स्वयम् किमसँग हुने वार्ताका विषयमा आन्तरिक परामर्शमा थिए । विभिन्न मुलुकदेखि सञ्चार माध्यमसम्म ट्रम र किमबीचको वार्ताले शक्तिको होडबाजी, आरोप–प्रत्यारोपको श्रृंखला र बढ्दो ध्रुविकरणलाई सामान्य उन्मुख बनाउने अपेक्षामा थिए । तर, किमको बेजिङ भ्रमणले ट्रम्प र सी जिन पिङको सम्बन्धमा तिक्तता थप्ने मात्रै होइन ट्रम्प र किमकै संभावित वार्तामा समेत असर पु¥याउने अनुमान छ ।
उत्तर कोरियालाई नाकाबन्दी लगाउने विषयमा सिंगो विश्व एक हुँदा पनि वेजिङले प्योङयाङलाई निरन्तर सहयोग गरिरहेको थियो । उत्तर कोरियाको सबैभन्दा नजिकको मित्रका रुपमा चीनले किमलाई बेजिङमा रातो कार्पेट विच्छ्याएर धु्रविकरणलाई थप प्रश्रय दिएको छ । यस्तो अवस्थामा ट्रम्प र किमबीच भेट होला भन्ने प्रश्नलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जोडतोडका साथ उठाएका छन् ।
उन र सीबीच के–कस्ता विषयमा छलफल र सहमति भयो भन्ने नखुलाए पनि बेजिङले वार्ता सफल भएको जनाएको छ । किमले बेजिङमा आणविक परीक्षण क्रमशः घटाउँदै लैजाने प्रतिवद्धता जनाएर अमेरिकाको चासो आशिंक सम्बोधनको प्रयास गरेको भनिए पनि रुस, अमेरिका, चीन र उत्तर कोरियामै रुमल्लिरहेको विश्व राजनीति कता मोडिने वा सोझिने हो केही दिनमै छनक आउने छ ।