• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

विप्लवको नाममा झुटो समाचारः व्यवसायी भन्छन् नेकपाले चन्दा मागेको छैन्


चैत १४, काठमाडौं ।

निर्माण व्यवसायीसँग कमिशन मागेको भ्रम सिर्जना गरिएकोमा विप्लव नेतृत्वको नेकपाले कडा आपत्ती जनाएको छ ।

“विप्लव कार्यकर्तालाई मोटो रकम नबुझाएसम्म काम अघि बढ्न नसक्ने भएकोले इनकाउण्टरमा उत्रिन प्रचण्ड र ओलीसँग माग गर्ने” आशयको समाचार प्रकाशित भएपछि पार्टीले आपत्ती व्यक्त गरेको हो ।

“हामीमाथि दमन गर्ने षडयन्त्रस्वरुप यस्तो प्रचार गरिएको छ ।” नेकपाका प्रवक्ता प्रकाण्डले एभरेष्टदैनिक डटकमसँग भने, “हामी राज्यसत्ता र त्यसका अंगहरुलाई अस्वीकार गर्छौं तर हामीले आतंक मच्चाएर कुनै पनि व्यवसायीसँग कमिशन मागेका छैनौ र त्यो हाम्रो नीति पनि होइन ।”

प्रवक्ता प्रकाण्डले नेकपाका गतिविधिबाट अत्तालिएकाहरुले माओवादीहरुलाई नै आपसमा लडाएर दमनको श्रृंखला शुरु गर्न खोजेको बताए ।

“हामी राष्ट्रिय पूँजिको विकास हुनुपर्छ भन्ने मान्यताको वकालत गर्दै आएका छौं । हामीले कुनै पनि राष्ट्रिय व्यवसायीलाई हतोत्साही पार्ने काम गरेका छैनौं । हामीले कमिशन मागेको कुरा विल्कूल भ्रम हो र पार्टीका विरुद्ध दमन गर्न गरिएको षड्यन्त्र मात्र हो ।”

व्यवसायीबीच छलफल भएको भनेर नेकपाका नेता तथा कार्यकर्तामाथि दमन गर्ने र राज्यआतंक मच्चाउने षडयन्त्रस्वरुप यसप्रकारको समाचार सार्वजनिक भएको उनले बताए ।

कपोकल्पित र भ्रामक समाचार विरुद्ध कानूनी उपचार खोज्ने – निर्माण व्यवसायी अधिकारी

यता विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले लाखौं रकम मागेको विषयमा कुनै पनि छलफल नभएको ‘क’ वर्गका निर्माण व्यवसायी शारदा अधिकारीले एभरेष्ट दैनिक डटकमलाई बताए । हुँदै नभएको छलफलको विषयलाई समाचार बनाएर भ्रम छर्न खोजिएको उनको भनाई थियो ।

“व्यवसायीबीच न विप्लव माओवादीबाट चन्दा मागेको कुरा उठेको छ न त दमनका लागि आग्रह गर्ने कुरा नै । म आफै सहीद परिवारबाट हुँ । हिजो मैले पनि माओवादी आन्दोलनमा योगदान दिएको छु । मेरै नाम जोडेर यसरी समाचार आउनु म र माओवादी आन्दोलन विरुद्धकै षडयन्त्र हो । यसको म जोडदार खण्डन गर्दछु ।” निर्माण व्यवसायी शारदा अधिकारीले भने, “अहिले पार्टी एकता भइरहेको बेला ओली र प्रचण्डबीच फाटो हाल्ने र विगतमा एउटै आन्दोलनका सहयात्रीलाई एक अर्काका विरुद्ध उचाल्ने षडयन्त्रस्वरुप यस्तो भ्रम छरिएको छ ।”

निर्माण व्यवसायी अधिकारीले कपोकल्पित र भ्रामक प्रचारले आफू र निर्माण व्यवसायीहरुमाथि नै आँच आएको भन्दै कानुनी कार्वाहीमा अघि बढने बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा नियोजित तवरले भ्रामक सूचना सार्वजनिक गर्ने कुरा कुनै पनि कानुनले छूट नदिएको उनको भनाई थियो । “हामी निर्माण व्यवसायीलाई बदनाम गर्ने र हाम्रो पेशागत मर्यादालाई नै असर पार्ने यस्ता प्रचारविरुद्ध कानुनी उपचारमा जान्छौं ।”

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका शीर्ष तहका नेताहरुलाई भीडन्तमा मार्नुपर्ने माग व्यवसायीले गरेको भन्ने आशयको समाचार प्रकाशित गरेपछि विप्लव र निर्माण व्यवसायी दुबै पक्षबाट त्यसको खण्डन भएको हो ।

शहीद परिवारका निर्माण व्यवसायी अधिकारी आफै माओवादी आन्दोलनमा सहभागी थिए ।

एभरेष्ट दैनिकबाट साभार

प्रकाशित मिति : २०७४ चैत्र १४ गते बुधवार