चैत १५, काठमाडौं ।
भुकम्प पीडितलाई नमुना घर बनाएर सहारा दिएका धुर्मुस-सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्ने भएको छ ।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो ।
फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने खुलाएका छन् । उनका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ ।
‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,’ धुर्मुसले लेखेका छन् ।
यो परियोजना सरकारर्लाइ सघाउनका लागि निम्ति भएको भन्दै यसमा नेपाल सरकारले गम्भिरतापूर्वक साथ, सहयोग र समन्वय गर्ने विश्वास धुर्मुसले व्यक्त गरेका छन् ।
धुर्मुसले यसअघि नमूना नेपाल नामको अर्को परियोजना घोषणा गरेका थिए । उनले दुवै परियोजना आफूहरुका लागि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सोधेका छन्, ‘अब भन्नुहोस कुन चाहिँ पहिला ?’
यसको जवाफमा धेरैबाट पहिले क्रिकेट रंगशाला निर्माण हुनुपर्ने प्रतिक्रिया आएको छ ।
यस्तो छ स्टाटस :
अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्भेको काम सकेर मास्टर प्लान, डीपीआर र ईआईएको प्रक्रियामा अघि बढिरहेका बेला चौतर्फीरूपमा विभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईंहरूले गरिदिनुपर्यो भनेर एक प्रकारको सुझाव अनि अनुरोध आइरहेकै थियो ।
हामीलाई दुवै परियोजना अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठूलो चिन्ता थियो । सबैको इच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तरोन्नति अनि खेलाडीहरूको मनोबल बढाउन पनि हामी दुवै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।
नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभइ देशकै गरिमा उच्च राख्ने काम गरेको छ । यो अभियान धुर्मुस सुन्तली फाउण्डेसनको मात्रै नभइ राष्ट्रकै अभियान हो । फाउण्डेसनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै इन्टरनेसनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ ।
त्यही समितिको रोहबरमा इन्टरनेसनल क्रिकेट स्टेडियम बन्नेछ ।
हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उद्देश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।
सबै मिलेर निर्धारित समयभित्रै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडीहरू उत्पादन गर्न सक्नेछौँ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होइन नेपाललाई नै आर्थिक समृद्धितर्फ अघि बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकीय गन्तव्य पनि हुनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीता भइरहँदा विश्वभरीबाट खेलका पारखीहरू अनि खेलाडीहरु नेपाल भित्रिँदा देशलाई महत्वपूर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपूर्ण सम्पदाहरूको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भूमिका खेल्नेछ ।
त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुवै परियोजना महत्त्वपूर्ण छन्, नमूना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस्, कुनचाहिँ पहिला ?