चैत १५, काठमाडौं ।
कोही खुल्लमखुला भन्छन्, ‘म पोर्नस्टार बन्छु ।’
कोही भन्छन्, ‘कि पूँजीले चल्छ, कि……ले ।’
कोही लुकाउने कुरा देखाएर महोत्सवहरूमा ‘हट केक’ बनिरहेका छन् । कोही सुन्नै नसिकने शब्द ओकलेर सोसल मिडियामा ‘भाइरल’ बनिरहेका छन् । यी तिनै पात्रहरूको कथा हो, जो भर्चुअल संसारमा बेपर्वाह तमासा मच्चाइरहेका छन् ।
ज्योति मगरः उत्ताउलो जवानी
गायिका ज्योति मगर र आस्था राउतवीच अहिले ‘भर्चुअल वार’ उत्कर्षमा छ । गायिका आस्थाले फेसबुकमार्फत गुनासोमिश्रति कटाक्ष गरिन्, ‘कति स्वरका धनी चेलीहरू घरमै बस्नुपर्या छ, अश्लील कुरा र नाङ्गो नाच गर्नेहरू महोत्सवमा बिकेका छन् ।’
अचेल महोत्सवको माहौल तताउने भनेकै ज्योति मगरले हो । ‘कुन मुलाको सिन्की’ गाएर भन्दा पनि उदाङ्गो वैंश पोखेर चर्चामा आएकी ज्योतिले यस्तो कटाक्ष नबुझ्ने कुरै भएन । उनले रक्षात्मक जवाफ फर्काइन् । त्यसपछि उनीहरू वाक्युद्धमा ओर्लिए । युट्युबमा एकअर्काप्रति धारे हात लगाउने र औंला ठड्याउने उपक्रम चलिरह्यो ।
ज्योतिको लागि यो एउटा ‘चटनी’ मात्र हो । उनले यस्ता विवादको पहाड छिचोलेकी छिन् । एकपटक गायक रामप्रसाद खनाल (हाल अमेरिका पलायन)सँग पनि ज्योतिको यस्तै दोहोरी चल्यो । खनालले ‘हिट हुनकै लागि गाएको हो भने निलो चलचित्र खेले हुन्छ’ भनिदिए । जवाफमा ज्योतिले पनि, ‘तपाई मेरो बुबा समानको मान्छे, आफ्नो छोरीलाई खेलाउनुहोस् । त्यसपछि म खेलौंला’ भनेर जवाफ दिइन् ।
ज्योति कतिसम्म विवादित गायिका हुन् भने, एक टेलिभिजनले उनको अन्र्तवार्तामा प्रतिबन्ध लगायो । नेपाल टेलिभिजनको ‘टि टाइम’ भन्ने कार्यक्रमका लागि उनले दिएको अन्तर्वार्ता प्रसारणमा रोक लगाइएको थियो ।
करियरको पूवार्द्धमा आफ्नो गला माझ्नेभन्दा अंग ‘एक्सपोज’ गर्नमै ज्योतिले निको ठानिन् । उनको आवाजको मार्धुयले होइन, उदाङ्गो जवानीले बढी ‘भाउ’ पायो । त्यही कारण त उनलाई, देशी-विदेशी स्टेजले ‘डिमान्ड’ गरे, गरिरहेका छन् ।
कस्तोसम्म मानसिकता छ भने, ज्योति मगरलाई नउफारेसम्म स्टेजको मात चढ्दैन । सम्भवतः स्टेजमा ज्योति मगर डिमान्ड गर्नेहरूलाई उनको गीतको हेक्का छैन तर भर्चुअल माध्यममा देखिने ‘बोल्ड’ फोटो/भिडियो/अन्तर्वार्ताहरू कण्ठै छ ।
सडकमा ओर्लिएर कुनै तमासा गर्नसाथ त्यो रातारात भाइरल बन्छ । भाइरल हुने त्यही घनचक्करमा परेर कोही छाडा कुरा ओकल्छन्, कोही पहिरन उतार्छन् । ज्योति, अर्चना या सरस्वतीको चर्तिकला त्यसकै उपज हो ।
औसतभन्दा होचो कदकी, मोटीघाटी, मंगोल वर्णकी, हँसमुख ज्योतिलाई जसरी स्टेजमा उतारिँदै छ, त्यसले उनको कलाभन्दा चर्तिकला -आस्थाले भनेजस्तै) बढी देखाउने चेष्टा गरिएको छ । भीडको यही मनोविज्ञान बुझेर ज्योति आफूलाई सक्दो उदाङ्गो बनाउँछिन् । न उनको चोलीले लाज ढाक्छ, न बोलीले । द्विअर्थी भाषा बोल्न उनलाई कुनै आइतबारले छेक्दैन । प्याच्च-प्याच्च द्विअर्थी कुरा बोलेर उनी विवादमा तानिन्छन् ।
स्टेजको कुरा छाडौं, म्युजिक भिडियोमा समेत उनको उत्ताउलो जवानी छताछुल्ल भएको छ । केही वर्षअघि ‘ढाडे बिरालो’ गीत गाएर विवादमा तानिइन् । कतिपय महोत्सवमा उनलाई ‘निषेध’ गरिएको र कलाकर्मीले ‘ज्योतिसँग स्टेज सेयर नगर्ने’ सम्मका खबरहरू बाहिर आउने गर्छन् । ज्योति अहिले बिम्ब भएकी छिन्, अभद्र/अशिष्ट/अश्लील महिलाको ।
अर्चना पनेरुः कला कि चर्तिकला ?
जुन समाज ‘यौन’को कुरा गर्नासाथ लाजले खुम्चन्छ, त्यही समाजमा खुल्लमखुला ‘म पोर्नस्टार बन्न चाहन्छु’ भन्नु आश्चर्यलाग्दो हो । त्यो पनि विद्यालय तहमा पढाइ गरिरहेकी किशोरीले । उनले त भनिनन् मात्र, नग्न तस्वीर खिचाइन्, भिडियो रेकर्ड गराइन् ।
पनेरुको यो हर्कतलाई ‘निजी मामला’ ठान्ने वा ‘यौनजन्य कृत्य ?’ समाज अलमलियो । सुरुमा त प्रहरीले उनलाई पक्राउ गरे, ‘साइबर क्राइम’ गरेको भन्दै । पछि ‘साइबर क्राइम’ अन्तर्गतको मुद्दामा समेत नसमेटिने यो विषय सामसुम भयो ।
पात्रको नाम सबैलाई कण्ठै छ, अर्चना पनेरु । नेपाली समाजमा अर्चना यति दुर्लभ पात्र हुन्, जसले ‘पोर्न उद्योगमा करियर बनाउँछु’ भनेर सर्बत्र तहल्का पिटिन् । अझ उदेकलाग्दो कुरा के भने, अर्चनालाई यस्तो कृत्यमा उत्प्रेरित गर्ने उनकै आमा हुन् । संसारमै यस्ता आमा सायदै होलान्, जो छोरीको जवानीको सौदावाजी गर्छन् । ‘नग्न तस्विर’ र ‘पोर्न स्टार बन्ने’ उद्घोषले दूरदराजकी एउटी किशोरीलाई ह्वात्तै चर्चामा ल्यायो, जुन आफैंमा दुर्लभ थियो । गैर-अश्लील र गैर-आपराधिक कामबाट यत्ति ठूलो ‘नेम र फेम’ पाउनका लागि वर्षौं-वर्ष पसिना बगाउनुपर्छ ।
जतिबेला ‘म पोर्न स्टार बन्छु’ भन्दै अर्चनाले फोटो खिचाइरहेकी थिइन्, त्यसबेला उनी आफ्नो निवास कन्चनपुर, भाँसीमा थिइन् । त्यहीबाट उनले नग्न फोटो अपलोड गराइन् र सामाजिक सञ्जाललाई ठूलो झट्का दिइन् । त्यो तरंगले नेपाली समाजलाई नराम्ररी हल्लाइदियो ।
सामाजिक सद्भाव भाँडेको भन्दै पनेरु आमाछोरी विरुद्ध स्थानीय समाजले उजुरी गर्यो । प्रहरीले पक्राउ गरे । आमाछोरीमाथि केरकार गरियो । आमा सुनिताले प्रहरी सामु रुँदै ‘आइन्दा त्यस्तो नगर्ने’ बाचा गरिन् । तर, त्यहाँबाट उम्किएपछि उनले ‘छोराछोरीको भविष्यमाथि आमाको बढी जिम्मेवारी भएकाले छोरीको पोर्नस्टार बन्ने इच्छामा आफु तगारो नबन्ने’ तर्क गर्दै हिँडिन् । अनलाइनखबरसँगको कुराकानीमा पनि उनले दोहोर्याएकी थिइन्, ‘पोर्न स्टार भनेको छाडा कुरा होइन । कला हो । यसमा म छोरीलाई रोक्ने छैन । बरु सपोर्ट गर्छु ।’
सपोर्ट गर्ने मात्र होइन, किशोर उमेरकी छोरीलाई नाङ्गेझार बनाएर फोटो खिच्न आमाले नै उक्साइन् ।
छोरीलाई नङ्ग्याइरहेकी सुनिता पनेरुले कहिले पतिबाट असुरक्षित भएको भनिन्, कहिले समाजले बस्न नदिएको भन्दै आक्रोश पोखिन् । अन्ततः यस्तै फन्डा गरेर उनी छोरीलाई च्यापेर काठमाडौंमा डेरा जमाउन आइपुगिन् ।
चर्चा र विवादको उत्कर्षमा रहेकी अर्चना पनेरुलाई क्यास गर्न केही सर्ट मुभी बनाउनेहरू तम्सिए । उनीहरूले फिल्म बनाए । पोखरामा छायांकन गरिरहकै अवस्थामा सुटिङ युनिट समेत प्रहरीको फन्दामा पर्यो ।
यौनलाई ‘छाडा’ र ‘अपराध’ ठान्ने नेपाली समाजमा भित्रभित्रै यौन-कुण्ठा उम्लिरहेको छ । यही कारण युवतीको उदाङ्गो देहमा रमाउने जमात बढ्दै छ ।
तर, प्रहरीले पक्राउ गर्ने फेरि उही धन्दा जारी राख्ने ‘टम एन्ड जेरी’ शैलीको खेल खेलिरहे यी आमाछोरीले । पछिल्लो समय उनीहरूले काठमाडौंमै डान्स बार सञ्चालन गरे । त्यसबीचमा उनीहरूले युट्युब, फेसबुकमार्फत अनेक हर्कत गर्न पनि भ्याइरहे । अचेल उनीहरूले ‘सुनिता-अर्चना च्यानल’ नामक युट्युब एकाउन्ट बनाएका छन् । विवाद र चर्चाकै गोलचक्करमा परिरहन रुचाउने पनेरु आमाछोरीको चर्तिकला जारी छ ।
सरस्वती लामाः छाडा बोली
स्वघोषित ‘रकस्टार’ हुन् उनी । उनले कुन गीत गाएकी छिन् भन्नुभन्दा उनले के-के काण्ड गरेकी छिन् भनेर सोधेमा त्यसको जवाफ मिल्नसक्छ किनभने सरस्वती लामा गीत गाएर भन्दा पनि लेख्नै नहुने शब्दावली ओकलेर ‘भाइरल’ भएकी हुन् ।
युट्युबमा उनको गीत होइन, हट अन्तर्वार्ता बढी फेला पर्छ । अन्तर्वार्ताकारले उनीसँग गीतसंगीतको कुरा गरेका छैनन्, ज्यान र जवानीको कुरा गरेका छन् । सम्भवत यस्तै उत्तेजक कुरा गर्नमा उनी माहिर छिन् ।
केही समयअघि सरस्वती लामाकै कारण एक महोत्सव भाँडिएछ । बाँकेको कोहलपुरमा औद्योगिक व्यापार तथा पर्यटन महत्सोवको ‘शोभा’ बढाइदिन पुगेकी उनले हंगामा मच्याइदिइछन् । स्टेजमा उक्लिएको केहि समय बित्न नपाउँदै उनी स्टेजबाट ओलर्नुपरेछ ।
सरस्वतीको प्रस्तुति हेर्न आतुर युवा जमात अनियन्त्रित भएपछि प्रहरी परिचालन भयो । कार्यक्रम बिथोलियो । ‘औद्योगिक महोत्सव’ पनि एउटै गायिकाको तमासाले फ्लप भयो ।
कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराइले अनलाइनखबरसँग भनेका थिए, ‘सरस्वती लामाजस्ता गायिकालाई नल्याउने आग्रह गर्दा आयोजकले मानेनन्, अहिले यस्तो भयो ।’
अचेल महोत्सवको रौनक बढाउन सरस्वती लामाहरू निम्त्याइँदा रहेछन् । तर, कतिपय उत्सव/महोत्सवमा उनीहरूको उपस्थिति नै अराजक हुने भएपछि उनीहरूलाई निषेध गरिएको रहेछ ।
यद्यपि देशी-विदेशी स्टेजले सरस्वती लामालाई डिमान्ड गर्न छाडेको छैन । उनी चर्को आवाज ओकलेर भन्दा पनि भएभरको लुगा खोलेर स्टेज तताउने गर्छिन् । युट्युबमा छ्यापछ्याप्ती भिडियो देख्न पाइन्छ, सरस्वतीको उत्तेजक प्रस्तुतिको । उनी स्टेजमा उफ्रिइरहँदा युवा दर्शकको उत्तेजना थाम्न मुस्किल पर्छ । सरस्वती स्टेजमा उक्लिएपछि भीड नियन्त्रणका लागि प्रहरी नै खटिनुपर्ने अवस्था छ ।
‘भाइरल’ बन्ने गोलचक्कर
एक अन्तर्वार्तामा अभिनेत्री निशा अधिकारीले भनेकी छिन्, ‘म कन्ट्रोभर्सी क्विन नै हुँ, सेलिब्रेटी भइसकेपछि विवाद तथा तारिफ आइ नै रहन्छ । पचाउन सक्नु महानता हो ।’
सेलिब्रेटीको हकमा एउटा भनाइ निकै चल्तीमा छ- ‘नाम होस्, बदनाम होस् । तर, गुमनाम नहोस् ।’ जसरी हुन्छ, सबैको अगाडि चिनिनु पर्यो । यसरी रातारात चिनिने -सेलिब्रेटी बन्ने) चक्करमा अहिले धेरैले सर्ट-कट बाटो रोजेका छन् ।
चर्चा पाउने अहिले अनेक माध्यम छन् । सडकमा ओर्लिएर कुनै तमासा गर्नसाथ त्यो रातारात भाइरल बन्छ । भाइरल हुने त्यही घनचक्करमा परेर कोहि छाडा कुरा ओकल्छन्, कोही पहिरन उतार्छन् । यसरी एक तहमा आफ्नो चिनारी दिइसकेपछि उनीहरू आफैंमा ‘बिकाउ कन्टेन्ट’ बन्छन् । अब फिल्म बनाउने या स्टेज शो गर्नेहरूले मौकामा चौका नहान्ने कुरै भएन । सरस्वती लामालाई स्टेजमा उफारेर हुन्छ कि, अर्चना पनेरुको भिडियो बनाएर, आफ्नो धन्दा चलाउनु जो छ । यस्ता विचौलियाहरूले अर्चना पनेरुहरू उत्पादनका लागि उर्बर वातावरण मिलाइरहेका छन् ।
आफ्नै नग्न अंगको ब्यापार गर्नु, उदाङ्गो रूप देखाएर स्टेजमा उपि|mनु, मुखमा आएजति छाडा कुरा ओकल्नु निश्चय नै, सम्बन्धित पात्रले गर्ने ‘उत्तेजक एवं भड्किलो’ कर्म होला । तर, हामी पनि त्यसका साझेदार हौं भन्नेमा अनुहार लुकाइरहनु पर्दैन ।
सरस्वती लामा स्टेजमा उफ्रिरहँदा उनको उत्तेजक नाच हेर्ने तम्सने र हेर्न नपाउँदा कुण्ठा पाल्नेहरू कम छैनन् । यौनलाई ‘छाडा’, ‘लाजमर्दो’ र ‘अपराध’ ठान्ने नेपाली समाजमा भित्रभित्रै यौन-कुण्ठा उम्लिरहेको छ । त्यसैले पनि युवतीको उदाङ्गो देहमा रमाउने जमात बढ्दै छ ।
कवि विनोद विक्रम केसीले ‘ज्योति मगरको तिघ्रा’ शीर्षकमा लेखेजस्तै,
‘कसुरै के छ र तिम्रो ?
रसरंगका जल्लादहरूले
फर्याकफुरुक गर्दै फूल-पात टेकी नाचिहिँड्ने
गाउँकी एउटी पुतलीलाई
बनाइदिए कठपुतली ।’