• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

तीन दाजुभाइ गुमाएकी शशिकला भन्छिन्- दैव पनि हाम्रा लागि कति कठोर भैदियो


चैत १५, काठमाडौं ।

धैँझैं बिहीबार बिहान पनि सूर्य उदायो तर त्यसको प्रकाशले म्याग्दीका धनबहादुर र उनकी श्रीमती लिलमती रोकाको अनुहारमा छाएको अध्याँरो हटाउन सकेन।

केहीबेरमा एउटा जीप आएर घर नजिकैको सडकमा रोकियो। जीपभित्र थिए रोकाका साइँला छोरा, थमबहादुर। उनी जीपबाट ओर्लिए र छतमा चढे। अरू गाउँलेले उनलाई सघाए।

छतमा राखेको बाकसमा उनका कान्छा भाइ धर्मलालको शव थियो।

धर्मलालको शव भएको बाकस आँगनमा राख्न नपाउँदै बुढ्यौलीले मुजा परिसकेको धनबहादुर र लिलमतीको अनुहारमा आँशुको भेल बग्न थाल्यो।

आँगनभरि जम्मा भएका बेली गाउँका कसैका आँखा पनि ओभाना रहेनन्।

प्यारालाइसिसले गाँजेका धनबहादुरले छोराको शव भएको बाकसमा मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेका भन्दै मुर्छित नहोउन्जेलसम्म बिलौना गरे।

लिलमती माथिल्लो तलामा टाउको र छाति पिटीपिटी बिलाप गर्दै थिइन्। केहीबेरमा उनी पनि मुर्छा परिन्।

रोका दम्पत्तिलाई आइलागेको यो तेस्रो विपत्ति हो। वैदेशिक रोजगारीले उनीहरूका जेठा र माइला छोरालाई यसअघि नै निलिसकेको थियो।

चैत ११ गते सबैको घरमाझैं रोकाको घरमा पनि चैतेदशैंको रमझम थियो।

थमबहादुर केही दिनअघि मलेसियाबाट घर फिरेका थिए। माहौल रमाइलो थियो।  यत्तिकैमा थमबहादुरको मोबाइल बज्यो। मलेसियाबाट ज्वाइँले फोन गरेका रहेछन्।

‘एकदम नराम्रो खबर छ जेठान, पुष्टि भइसकेको छैन,’ ज्वाइँको वाक्यले थमबहादुरको मन चसक्क भयो।

त्यसपछि लगातार उनको मोबाइल बज्न थाल्यो। केहीबेरमै ज्वाइँले आँत्तिएको स्वरमा थमबहादुरका भाइ धर्मलालको सुतेको अवस्थामै मृत्यु भएको बताए।

वृद्ध आमाबुबाको रेखदेख गर्न भाइलाई मलेसियामा छोडेर गाउँ फर्किएका थमबहादुरले केहीदिनमै उनको मृत्युको खबर सुन्नु पर्यो।

शवलाई काठमाडांै पठाउने तयारी भएको भन्ने थाहापछि थमबहादुर काठमाडौं हिँडें।

धनबहादुर र लिलमतीका ४ छोरामध्ये जेठा तमबहादुर र माइला भक्तबहादुरपछि कान्छा धर्मलाल रोकाको मृत्यु विदेशमा नै भयो।

सबैभन्दा पहिला वैदेशिक रोजगारीका लागि माइला भक्तबहादुर कतार गए। त्यतिबेला उनी २१ वर्षका थिए। कतार गएको दुई वर्ष पनि नपुग्दै उनको मृत्युको खबर आयो।

उनको शव कार्गोमार्फत् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झारियो। त्यतिबेला छोराको शव बुझ्न धनबहादुर आफैं काठमाडौं गए। उनको काजक्रिया पनि काठमाडौंमै गरियो।

घरको आर्थिक अवस्था कमजोर भएकाले भाइको मृत्युलगत्तै जेठा तमबहादुर पनि कमाउने सपना बुनेर मलेसिया उडे।

मलेसियामा उनी एउटा मोटर कारखानामा काम गर्थे। घर छोडेको सात महिना पनि नहुँदै उनले संसार छोडेको खबर आयो।

दश वर्षअघि तमबहादुरलाई पनि यसैगरी कम्पनीले बाकसमा घर पठाइदियो। कम्पनीले लास पठायो तर आजसम्म पनि कुनै राहत र सहयोग नपाएको थमबहादर बताए।

बिहीबार कान्छा भाइको शवलाई बाकसमा हालेर ल्याएका थमबहादुरले वृद्ध र रोगी बुबाआमाको चित्कारले आफ्नो मुटु छियाछिया भएको बताए। ध्रुबसागर शर्मा/सेतोपाटी

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार