• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा सरकारी मोटरसाईकलको चरम दुरुपयोग


शंकर केसी
चैत १६, सल्यान ।

सल्यानमा एकजना वडा अध्यक्षका लागि राज्यले प्रदान गरेको मोटरसाईकलमा उनका छोराको राज चलेको छ । वडा अध्यक्षका छोराले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएपछि त्यसको जनस्तरवाट विरोध सुरु भएको छ ।

यहाँका कतिपय वडा अध्यक्षहरुले मोटरसाईकल चलाउनै नजानेको बाहानामा मोटरसाईकल घरमा लगेर छोरालाई दिने गरेको तथा घरायस कामकाजमा लगाउँदै आएको पाइएपछि त्यसको जनस्तरवाट विरोध सुरु भएको छ । मोटरसाईकल चलाउन नजान्नेहरुले समेत वडा सचिवबाट मोटरसाईकल बुझेर आफ्ना आफन्तिहरुलाई चलाउन दिएको पाइएको छ ।

जिल्लाको सारपानी गर्पाका वडा अध्यक्षको घरमा पानी ओसार्नको लागि सरकारी मोटरसाईकल प्रयोग भएको पाइएको छ । एकजना स्थानीयले भने, ‘यो त अती नै भयो, अध्यक्षको घरमा पानी बोक्नेदेखि लिएर श्रीमतीलाई माइत पुर्याउन समेत सरकारी मोटरसाइकल प्रयोग हुँदै आएकोछ ।’ कपुरकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मानबहादुर रानालाई सरकारले प्रदान गरेको रा १ ब ३७६ नम्बरको सरकारी मोटरसाईकल उनका छोराले चलाउँदै आएका छन् । हेलमेट नै प्रयोग नगरेर मोटरसाईकल चलाउने, मोटरसाईलकमा तीनजना चढाउने र अनावश्यक निजी काममा सरकारी मोटरसाईकल दुरुपयोग हुँदै आएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

एकजना वडा सचिवले भने, ‘कार्यालय प्रयोजनका लािग गर्ने मोटरसाईकल वडाअध्यक्ष ज्युहरुले दुरुपयोग गर्न थाल्नु भएको छ, त्यो कदापी राम्रो होइन ।’ जिल्लाका विभिन्न स्थानीय तहमा यस्तो गुनासो बढ्न थालेको उनले बताए ।

यसैविच जिल्ला प्रशासन कार्यालयले सरकारी नम्बर प्लेटका सवारीको चेकजाँचमा कडाई गरेको जानकारी दिएको छ । सार्वजनिक विदाको दिनमा पनि सवारी चलेको तथा आवश्यक कागजात विना नै सवारी चलाएको भन्ने गुनासो आएपछि त्यस्ता सवारिसाधन मथि निगरानी र चेकजाँचमा कडाइ गर्न प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार