• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

बुधबारदेखि यातायात पूरै बन्द, पर्चामै लेखियो बन्द ! बन्द !! बन्द !!!


चैत १८,  काठमाडौं ।

काभ्रे बस र मिनिबस तथा भक्तपुर मिनिबस संघर्ष समितिले मयुर यातायातको इजाजत पत्र खारेज नगरे आजदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । ती संस्थाले आइतबारदेखि काभ्रे र भक्तपुरका ग्रामीण भेगमा यातायात सेवा अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् ।

सरकारले शनिबार सूचना प्रकाशित गरी मयुर यातायातलाई कोटेश्वर पूर्व यातायात सञ्चालन गर्न स्वीकृति दिएको थियो । यदि मयुर यातायातको सेवालाई कसैले रोके वा अवरोध गरे कडा कारबाही गर्ने सरकारले चेतावनी दिएको थियो । तर, सरकारको सो निर्णयलगत्तै काभ्रे बस र मिनिबस तथा भक्तपुर मिनिबस सेवा समिति आन्दोलित भएका छन् । ती संस्थाले तीन बुँदे संघर्षका कार्यक्रम सुरु गरी आन्दोलन थालेका छन् ।

उनीहरूले सरकारले कोटेश्वर पूर्व मयुर यातायातको इजाजत खारेज नगरे सोमबार कोटेश्वर पूर्वका सम्पूर्ण यातायात बिहान ९ देखि १० बजेसम्म सडकमै बन्द गर्ने चेतावनी दिएका छन् । यति गर्दा पनि सरकारले आफ्ना माग पूरा नगरे बुधबारदेखि कोटेश्वरपूर्वका यातायात पूर्णरूपमा बन्द गर्ने उनीहरूले निर्णय गरेका छन् ।

विगतमा सरकारले साझा बसलाई भक्तपुरको साँगासम्म सेवा सञ्चालनका लागि इजाजत दिँदा पनि भक्तपुरका बस र मिनिबस व्यवसायी आन्दोलित बनेका थिए । तर, सरकारले ती यातायात सेवाकै इजाजत खारेज गर्ने चेतावनीपछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए । अहिले पनि काभ्रे बस र मिनिबस तथा भक्तपुर मिनिबस समितिले आफ्नो यातायात सिन्डिकेट कायमै गर्न आन्दोलनका कार्यक्रम राखेका छन् । जसको जनताले कडा आलोचना गरेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार