• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

बाम एकतामा झट्काः प्रचण्डको यस्तो प्रस्तावलाई ओलीद्वारा अस्वीकार !


चैत १८, काठमाडौं ।
एकताको समय नजिकिदै जाँदा एमाले-माओवादीबीच तनाव र दुरी बढ्न थालेको छ ।

केही दिनअघि मात्र तत्काल एकीकरण टुंगो लगाउने निर्णयसहित विभिन्न तहको सांगठनिक संरचनाको संख्या टुंगो लगाए पनि त्यसमा पदाधिकारीको ढाँचा र कसका कति कसरी राख्ने भन्ने विषयको निकास एकीकरणका लागि गठित कार्यदलले पाएको छैन । जुन, तत्काल एकीकरण घोषणाको ‘खिल’जस्तो देखिएको छ ।

यता केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि दुई अध्यक्ष राख्ने प्रचण्डको प्रस्ताव केपी ओलीले अस्वीकार गरेका छन् । सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने भन्दै एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य कमिटीमा अध्यक्ष र सचिव राख्ने प्रस्ताव गरेको हो ।

केन्द्रीय कमिटीमा एमाले र माओवादीको बाँडफाँट नमिलेका कारण अन्य कमिटीहरु कसरी समायोजन गर्ने प्रस्ताव तयार पार्न नसकेको कार्यदल सदस्य एवम् एमाले नेता बेदुराम भुसालले बताए । माओवादी नेता जनार्दन शर्माले भने केन्द्रदेखि तल्लो तहसम्म समानताको सिद्धान्तअनुसार एकीकरण गर्नुपर्ने भएकाले पार्टी एकता संयोजन समितिमा छलफल आवश्यक रहेको बताए । केन्द्रदेखि तलैसम्म प्रतिशतका आधारमा समायोजन हुन नसक्ने उनको तर्क छ ।

२३ चैतमा भारतको राजकीय भ्रमण अघि नै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकरण घोषणाको मौखि सहमति भएको थियो । तर समयसीमा भित्र ‘एकता घोषणा’ असम्भव देखिएको छ ।

सैद्धान्तिक विषयमा करिब–करिब सहमति भएको भनि दावी गरिएपनि सांगठनिक संरचना वडादेखि केन्द्रसम्म कस्तो बनाउने भन्नेमा एकीकरणका लागि गठित कार्यदल सहमतिमा पुग्न सकेको छैन ।

केन्द्रीय सदस्य कति बनाउने भन्ने विषयमै मतभेद देखिएकाे छ । एमाले नेताहरुले आफ्ना २ सय केन्द्रीय सदस्य र माओवादीका ९९ जना समायोजन गरेर २९९ सदस्यीय बनाउन सकिने प्रस्ताव राखेको छ । तर माओवादी पक्ष त्यसमा सहमत छैन ।
माओवादीले कार्यदलमा भन्दा समानताका विषयमा पार्टी एकता संयोजन समितिमा अन्य छलफल हुनुपर्ने बताउँदै आएको छ । माओवादी नेता शर्माले सांगठनिक संरचनाबारे समितिमा छलफल भएपछि एउटा सहमतिमा पुग्न सकिने बताए ।

प्रतिशत र संगठनको प्रभावका आधारमा भन्दा पनि एकीकृत पार्टीको नेतृत्व बरिष्ठता, समानताका आधारमा गर्नुपर्ने प्रस्ताव माओवादीले तयार पारिरहेको छ । ‘यसमा सर्वसम्मत ढंगले एकता संयोजन समिति तयार भएपछि मात्र एकीकरण घोषणाको माहौल बन्छ’, एकजना माओवादी नेताले भने,‘एकीकरणपछि एउटा पार्टी बनाउने निर्णयसहित अघि बढेपनि यहि प्राविधिक कुरो कार्यदलमा नमिलेका कारण ‘खिल’ पल्टेजस्तो भएको छ ।’

भातृ संगठनहरुको एकीकरण तत्काल नहुने

स्रोतका अनुसार पार्टी एकीकरणपछि केन्द्रीय संगठन विभागले तल्ला कमिटीहरुको एकीकरणको कार्यविधी बनाउनेछ । केन्द्रीय कमिटी जुन सिद्धान्तबाट बन्छ, सोहीअनुसार तल्ला कमिटीहरु एकीकरण गर्न सजिलो हुने नेताहरुको ठम्याइ छ ।

‘जुन अनुपातमा केन्द्रीय कमिटी गठन हुन्छ, तल्ला कमिटीहरुमा त्यहि लागू हुन्छ,’ ती नेताले भने ।

एमाले र माओवादीका भातृ संगठनहरुको एकीकरण भने तत्काल नहुने भएको छ । अहिले नै भातृ संगठनहरुको एकीकरण गर्नेतिर फस्दा पार्टी एकता नै भाँडिने खतरा रहेको नेताहरुले बताए ।

‘एकतापछि बन्ने संगठन बिभागले दुवै पार्टीका सम्बन्धित जनसंगठनका प्रमुखसहित राखेर कार्यदल बनाउँछ र त्यसपछि एकीकरणकेा प्रक्रिया शुरु हुन्छ,’ शर्माले भने ।

अहिले नै कसले कुन जनसंगठनको नेतृत्व लिने भन्ने छलफल गर्दा एकता नै भाँडिने खतरा रहेको उनले बताए ।

दैनिक पार्टी सन्चालन गर्न सचिवालय बनाइने
सबैभन्दा पहिले केन्द्रीय कमिटीको एकीकरण हुनेछ । हुन त केन्द्रमा ओली र प्रचण्ड अध्यक्ष रहने र बाँकी सचिवालय गठन हुनेछ । यसै संरचनामा तल्लो तहसम्म जान सकिने प्रस्ताव माओवादीले गरेको थियो । एमालेले त्यसलाई स्वीकार गरेन ।
त्यसपछि प्रदेश कमिटी बनाइनेछ । प्रदेशले जिल्ला र क्षेत्रीय कमिटी बनाउनेछ । माथिल्ला कमिटीले तल्ला कमिटी गठन गर्दै एकता टुंगो लगाउने र २ वर्षभित्र महाधिवेशन गर्ने तयारी छ ।

प्रदेश कमिटी १५१ सदस्यीय हुने र जिल्ला कमिटी न्युनतम ७५ सदस्यीय हुने सहमति भइसकेको छ । त्यस्तै महानगरपालिका कमिटी ७५ सदस्यीय, उपमहानगरपालिका कमिटी ६१ सदस्यीय, नगरपालिका र गाउँपालिका कमिटी ५१ सदस्यीय रहने तथा वडा कमिटी २५ सदस्यीय हुने निर्णय भइसकेको छ ।

एकीकृत पार्टीको केन्द्रमा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष बाहेक अरु पदाधिकारी नहुने भएकाले दैनिक पार्टी सन्चालन गर्न सचिवालय बन्नेछ । स्थायी कमिटी सदस्यको नेतृत्वमा रहने सचिवालयले पार्टीका दैनिक काम गर्नेछ ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार