शंकर केसी
चैत १९, सल्यान ।
सल्यानमा नयाँ वर्षमा पहिलो आर्थिक गणना हुने भएको छ । जनगणना र कृषि गणना जस्तै विशेष तथा आवधिक रूपमा आर्थीक गणना गरिन्छ ।
देश व्यापि कार्यक्रम अन्तरगत सल्यान जिल्लामा बैशाख एक गतेदेखि आर्थिक गणना गर्ने तयारी गरिएको छ । हरेक ५–५ वर्षमा राष्ट्रिय आर्थिक गणना संचालन गरिदै आइएको छ ।
यस गणनाबाट मुलुकको दिगो विकासको लागि आवश्यक पर्ने आधारभूत आर्थिक तथ्यांक प्राप्त हने जिल्ला आर्थिक गणना कार्यालय सल्यानले जानकारी दिएको छ ।
आर्थिक गणनाको लागि जिल्लाको सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेर काम गर्न सुरु भइसकेको छ । चैत्र एक गतेदेखि ब्यवस्थापकिय काम सुरु गरेको कार्यालयले २०७५ साल असार मसान्तमा आर्थिक गणना गरेर सक्ने लक्क्ष राखेको छ ।
कार्यालयले प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोवार गर्ने वाहेक सम्पूर्ण ब्यापारिक प्रतिष्ठानको तथ्यांक संकलन गर्ने जिल्ला आर्थिक गणना अधिकृत ठाकुरप्रसाद लामिछानेले जानकारी दिए । बैशाख १ देखि गणकहरु फिल्डमा खटाउने गरी तयारी गरिएको उनले बताए ।
मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको परिप्रेक्षमा आर्थिक गणनाबाट प्राप्त तथ्यांक राज्य पुनःसंरचना पछिको आर्थिक विकासको लागि भरपर्दो आधार तय हुने लामिछानेले बताए ।