• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

कर्मचारीलाई टाउकोमा आगो बाल्न गृहमन्त्री बादलको निर्देशन


चैत १९, काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह प्रशासनमा व्यापक सुधारको खाँचो रहेको भन्दै सुधारका लागि तयार रहन कर्मचारीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयअन्तर्गतका सबै निकायमा थुप्रै बेथिति रहेको भन्दै गृहमन्त्री बादलले सुधारका लागि कर्मचारीले आफूलाई तयार राख्नुपर्ने बताए ।

‘अहिलेको गृह प्रशासनमा जता हेर्यो त्यतै प्वाल परेको देखिन्छ । सबैतिर बेथिति छ,’ सोमवार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री बादलले भने, ‘गृह प्रशासनलाई सुनारले सुन खारैजस्तै खार्नु जरुरी छ । यसका लागि कर्मचारी र सुरक्षाकर्मीले आफ्नो टाउकोमा आगो बाल्नु परेपनि तयार हुनुपर्छ ।’

गृहमन्त्री बादलले अहिले भन्सारका नाकाबाटै अर्बैंको दरमा तस्करी भइरहेको बताउँदै तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कदम चाल्ने पनि बताए । यस्तै भ्रष्ट र तस्करहरुमाथि दमन चलाएर गृहमन्त्रालयमार्फत नयाँ क्रान्तिको शुरुवात गरिने उनको भनाइ थियो ।

पछिल्लो समय सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुप्रति जनताको वितृस्ण बढेको तथा जनताले सेतो नम्बर प्लेट भएको (सरकारी) गाडी देख्नेवित्तिकै ढुंगा हान्ने भयले कर्मचारीहरुमा सरकारी गाडीमा रातो नम्बर प्लेट प्रयोग गर्ने प्रचलन बढेको गृहमन्त्रीले बताए ।

प्रहरीमा ३० वर्षे सेवा अवधि ठूलो समस्याको रुपमा रहेको भन्दै त्यसलाई समयानुसार परिमार्जन गर्नका लागि तयारी भइरहेको पनि बताए । प्रहरी प्रशासनमा सरुवा र बढुवाका सम्बन्धमा देखिएको समस्या समाधानका लागि पनि आफूले नीतिगत परिवर्तन गर्ने उनको भनाइ थियो ।

गृहमन्त्री बादलले यातायातका क्षेत्रमा देखिएको आलोपाले प्रणाली (सिण्डिकेट) तोडेरै छाड्ने प्रतिबद्धता पनि जनाए । ‘सिण्डिकेट तोड्न जनताले नै आदेश दिएका छन्,’ गृहमन्त्री बादलले भने, ‘गृह मन्त्रालय र जनता मिलेर सिण्डिकेट तोडिन्छ ।’

उनले राजधानीको ट्राफिक जामसँग गुण्डागर्दी, भ्रष्टाचार, आर्थिक अनियमितता र कर्मचारीतन्त्रमा देखिएको बेथिति जोडिएको भन्दै ट्राफिक जामको समस्या समाधानका लागि छिट्टै परिणाममुखी काम गरिने बताए ।

गृहमन्त्री बादलले गृह प्रशासन सुधारका लागि भन्दै सोमवार ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र १९ गते सोमवार