• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा राजेश हमाल र दिनेश डीसी जाने


चैत १९, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ गतेदेखि तीन दिने भारतको भ्रमण गर्दैछन् । ५५ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले बलिउडका कलाकारसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीकाअनुसार चैत २४ गते साँझ बलिउडका कलाकारसँग भेट हुनेछ । बलिउड कलाकारसँग भेटघाट गर्न लागेका प्रधानमन्त्री ओलीले नेपाली कलाकार पनि आफ्नो भ्रमण टोलीमा समावेश गरेका छन् ।

अभिनेता राजेश हमाल र रेडियो कान्तिपुरका स्टेशन म्यानेजर समेत रहेका चलचित्र निर्देशक दिनेश डीसीलाई प्रधानमन्त्री ओलीले भारत भ्रमणमा लैजान लागेका हुन् । उनीहरुका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) बनाइसकेको छ ।

दोस्रोपटक प्रधानमन्त्री पद सम्हालेको दुई महिना नपुग्दै ओली भारत भ्रमणमा जान लागेको हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत जान लागेका प्रधानमन्त्री ओलीले यसपटक कलाकारलाई पनि लैजान लागेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दा बलिउड अभिनेता आमिर खानलाई लगेका थिए । यसकैको झल्को दिने गरी ओलीले हमाल र डीसीलाई लैजान लागेका हुन् ।

प्रधानमन्त्री ओली यही चैत २३ गतेदेखि २५ गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् । भारत रहँदा त्यहाँका राष्ट्रपति, समकक्षी मोदीलगायतका उच्च अधिकारी र नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १९ गते सोमवार