चैत २०, चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बराबरी सिद्धान्तका आधारमा मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन् । त्यसो हुन् नसके पार्टी नै एकता नहुने उनको भनाई छ ।
भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘ पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो ६०/४० होइन । समान ५०/५० नै हुनुपर्छ र त्यो हुन्छ पनि।’ यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उनले एकपटक छलफल गरेपछि सबै कुरा टुङ्गिने स्पष्ट गरे बिश्वास व्यक्त गरे । प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नभएको बताउँदै अध्यक्ष प्रचण्डले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने ठोकुवा गरे ।
प्रचण्डले मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन औपचारिक ढंगले प्रस्तुत हुने जानकारी दिँदै संयोजन समितिमा मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल शुरु हुने बताए । फरक प्रसंगमा उनले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केही छलफल भएको बताउँ दै भने, ‘यस बारेमा पनि मंगलबार संयोजन समितिमा छलफल हुन्छ ।’
यता एमाले नेताहरु भने चुनावी परीणाम अनुसार ७०/३० को मोडल हुन सक्ने भन्दै प्रचण्डको अभिव्यक्तिको ठाडै खण्डन गरिरहेका छन । त्यतिमात्रै हैन ओलीले आफै भनिसकेका छन्भन्छन् -‘संगठन तथा अन्तरिम विधान मस्यौदा कार्यदलमा रहेका ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल लगायतका नेता बालुवाटार पुगेका थिए । कार्यदलमा भइरहेको छलफलको जानकारी लिएपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘क्लियर कट’ शब्दमा भने, ‘जनयुद्ध र ५०/५० हुन्न । यो कुरा मैले प्रचण्डलाई भनिसकेको छु ।’
हुन् त प्रचण्डलेजस्तै केपी ओलीले सार्वजनिक रूपमा पार्टी एकताका सन्दर्भमा आफ्नो बटमलाइन प्रष्ट राखेका छैनन् । उनी अहिले मात्र होइन, एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया सुरु भएदेखि नै सार्वजनिक अभिव्यक्ति दिँदा जोगिँदै आएका छन् ।
कहिले ईश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै हुनुपर्छ भन्ने त कहिले शंकर पोखरेलले दुवै नेता अध्यक्ष रहने कार्ड फाले तर, ओली बोलेनन् । यसपटक पनि ओलीले आफ्नो बटमलाइन कार्यदलमा रहेका नेतालाई सुनाए । आफूले कहीँ कतै भाषण गरेनन् ।
प्रचण्डले समान हैसियतमा एकताको कुरा गरेपछि ओलीले बालुवाटारमै बोलाएर कुराकानी पनि गरेको स्रोतले बताएको छ । तर, प्रचण्डले प्रस्ट कुरा नगरेको स्रोतको दाबी छ । यसको अर्थ प्रचण्ड एकतापछि राज्यसत्ता र पार्टी सत्तामा आफ्नो पोजिसनबारे अझै आश्वस्त हुन चाहन्छन् ।
ओलीले भने जनयुद्ध स्वीकार गरिन्न भनेर आफूले प्रचण्डलाई पहिले नै भनिसकेको र ५०/५० को आधारमा एकीकरण हुन नसक्ने पनि बताइसकेको एमाले नेताहरूलाई सुनाएका छन्