चैत २०, पर्वत ।
मतपरिणाम बदर गर्न दिएको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले एमालेबाट निर्वाचित वडाध्यक्षको पक्षमा फैसला गरेको छ।
पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरमा गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित ओमबहादुर कुवँरले मतगणनामा धाँधली नगरेको भन्दै उच्च अदालत पोखरा, बागलुङ इजलासले रिट निवेदकको माग दाबी नपुग्ने फैसला गरेको हो। कुवँरले मतगणनामा धाँधली गरेको भन्दै उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेदवार गोविन्दप्रसाद पाध्याले उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश हरिप्रसाद पौडेलको एकल इजलासले फिराद दाबी खारेज गर्ने फैसला गरेको हो। निवेदक उपाध्यायले मतपेटिका झिकाई, कामकाज रोक्न अन्तरिम आदेश समेत माग गरेका थिए। यद्यपि अदालतले काम काज रोक्नका लागि अन्तरिम आदेश नदिए पनि मतपत्र भने झिकाएको थियो।
निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष कुवँरले चार सय सात मत पाएका थिए भने कांग्रेसबाट उम्मेदवार रहेका उपाध्यायले चार सय एक मत पाएका थिए।