चैत २०, काठमाडौँ ।
वैशाखको पहिलो साता इटहरीको तालतलैयामा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाई प्रतिबन्ध लगाइने भएको छ ।
ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनीमाथि प्रतिबन्ध लगाइने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताउनुभयो ।
इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने बताउनुभयो ।
गायिका ज्योति मगरप्रति खरो रुपमा प्रस्तुत हुनुभएकी उपप्रमुख गौतमले भन्नुभयो, ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन् । कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई छैन ।’
गौतमले यस्ता प्रकारका महोत्सवलाई आउँदा दिनमा जिल्ला प्रशासन कार्यालयबाट समेत इजाजत नदिन प्रजिअ गोपालप्रसाद पराजुलीसमक्ष आग्रहसमेत गर्नुभयो ।
पछिल्ला समय बतात्कारका घटना बढेपछि नियन्त्रणका लागि कार्ययोजना बनाउन देशब्यापी सर्कुलर जारी भएकाले पनि ज्योति मगरको उत्तेजक प्रस्तुतिलाई रोकेको गौतमको भनाई थियो ।
ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने कपडा लगाएर कार्यक्रममा प्रस्तुत हुने भए चाहिँ नरोक्ने गौतमले बताउनुभयो । -उज्यालो अनलाइनबाट