चैत २१, काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी वैशाख १ गतेदेखि सरकारले उपलब्ध गराएका सबै सुरक्षाकर्मी फिर्ता पठाउने निर्णय गरेका छन् । अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाको नाममा धेरै जनशक्ति दुरुपयोग भएकाले सुधारका लागि बाबुरामले यस्तो निर्णय गरेको उनका प्रेस सहयोगी विश्वदीप पाण्डेले जनाएका छन् ।
नयाँ शक्ति पार्टी नेपालका संयोजकसमेत रहेका भट्टराईले व्यक्तिगत सुरक्षा अधिकृतबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएका सबै सुरक्षाकर्मी फिर्ता लैजान केही दिनअघि गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखसँग आग्रह गरेका थिए ।
सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा दिएको छ । केही दिनअघि प्रधानमन्त्री केपी ओलीले घरेलु सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय गरेकाले पूर्वमन्त्रीहरूले पनि आ–आफ्ना सुरक्षाकर्मी र ड्राइभर फिर्ता गर्ने क्रम जारी छ । कांग्रेस नेताहरू नरहरि आचार्य, डा.मिनेन्द्र रिजाललगायतले सुरक्षाकर्मी ड्राइभर फिर्ता गरिसकेका छन् ।
गृह मन्त्रालयका अनुसार अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाका लागि करिब २१ हजार घरेलु सुरक्षाकर्मी परिचालन भएका छन् । तिनीहरूको तलबभत्ता, सेवासुविधा सबै सरकारले बेहोर्दै आएको छ ।