चैत २१, काठमाण्डौँ ।
सेनालाई जुनसुकै सिस्टम आएपनि फरक नपर्ने रहेछ ।
राजा सक्रिय रहेकै बेला एउटा घटना भएको थियो जसको पुनरावृत्ति गत साता देख्न पाइयो ।
त्यसबेला एक जना जर्नेल थिए, भिक्ट्री राणा नाम गरेका । उनलाई घर बसेको एक महिनापछि पुनर्वाहली गरिएको थियो । ब्रिगेडियरबाट म्याद थपी दुई तारेमा उकलिएका उनलाई पछि तीनतारेसम्म बनाएर बर्मामा राजदूतको जिम्मा दिई पठाइयो ।
अहिले पनि सेनामा तीजस्तै शक्तिशाली एकजना कर्णेल देखा परेका छन् । जसको नाम हो डिकबहादुर थापा । पासपोर्ट नेपालमै छाडेर पल्टनसहित सुडान पुग्ने हुस्सु हाकिम हुन् उनी । सेनापतिले यस्तै मानिसलाई सिफारिस गरेपछि अरुको बढुवा हुने कुरै भएन । फेरि जसको सरकार बने पनि त्यस्तैको बढुवालाई सदर गर्दै ल्याप्चे लगाउने गरेको देखिन्छ ।
यसबीच सेनापतिले चाहिँ सुडान, कंगोलगायत नेपालका शान्ति सेना तैनाथ मुलुकको भ्रमणमा जाँदा त्यो विभाग हेर्ने हेमन्त कुँवरलाई नलिइकन दुई वर्षमै दुईतारे जर्नेल भएका बहुपत्नीका धनी र बजेट महाशाखा हेर्न भुवन अधिकारीलाई लगेका छन् ।
स्टाफ अफिसरको रुपमा बजेटका मान्छे बोकेर उनले गर्दै गरेको अफ्रिका भ्रमणलाई सेनाका मान्छेले ज्ञानेन्द्रको अफ्रिका भ्रमणसँग तुलना गर्छन् ।
२०५२ सालमा एमाले सरकार हुँदा गडुल समशेरले ब्रिगेडियर जनरेलको पाँच वर्ष कार्यकाल सकिएपछि ३ वर्षसम्म पदावधि थप्न सकिने प्रावधान प्रयोग गर्दै दुई जनाको नाम पठाएका थिए ।
डा मदनमान अमात्य र पाइलट तेजजंग थापाको नाम थियो त्यो लिस्टमा । पछि गिरिजाको सरकार बन्यो धर्मपालवरसिंह थापा सेना प्रमुख बने ।
अहिले कपनमा महल बनाएर बसेका विवादमा परेका व्यक्तिको म्याद थप्ने काम भएको छ । मिसनमा नेतृत्व गरेर जाँदा पासपोर्ट यतै छोडेर जाने डिकबहादुर कुनै बेला रुक्मांगद कटुवालका दाहिने हात थिए ।
द्वन्द्वकालमा जिउँदै समातिएका माओवादीलाई यातना दिने र वेपत्ता बनाउने कामका कारण उनी गोरर्खामा रहँदा चर्चामा आए । यिनकै पालामा माओवादी चर्चित नेत्री रेखा शर्माले चरम यातना पाएकी थिइन् । कटवालको अंगरक्षकसमेत रहेका उनी प्रधानमन्त्री प्रचण्डविरुद्ध सेनापतिलाई उकास्नेमध्येका हुन् ।
त्यो बेला प्रधानमन्त्रीनिवास लक्ष्य गरेर भैरवनाथ गणको फौज बोलाई मेसिनगन फिट गर्ने काममा सक्रिय उनी सक्रिय रहेको आजको जनआस्थामा समाचार छ । सिपाही दर्जामा जागिर शुरु गरेका उनको सम्पत्ति कति छ सायद उनैलाई यकिन छैन होला भन्छन् नातेदार ।
म्याद नथप्ने निर्णय तीनतारे जर्नेलको बोर्डबाट भएकै हो । तर अन्तत सेनापतिको जोडमा म्याद थपियो ।