चैत २९, काठमाडौँ ।
नेपाली काँग्रेसका नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नाममा व्यवसायीसँग दुई करोड रकम माग्दै गरेको खुलासा भएको छ ।
काँग्रेस नेता चेतबहादुर गुरुङले बमले घर उडाईदिने धम्की दिँदै एक जग्गा व्यवसायीसँग दुई करोड माग गरेका हुन् । उनीसहित अन्य चार जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेसँगै सो खुलासा भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विहीबार एक विज्ञप्ति जारी गरेर चेतबहादुरसँगै उनका सहयोगीलाई बुधबार पक्राउ गरेको बताएको छ । पेशाले राजनीतिकर्मी चेतबहादुरको स्थायी घर गोरखा अजिरकोट गाउँपालिका–४ हो । उनी तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत भएको प्रहरीले बताएको छ ।
काँग्रेस नेता गुरुङले अाफू नेपाल कम्युनिस्ट पार्टीको नेता भन्दै व्यवसायीहरुलाई दुई करोड मागेको थिए । नदिए ज्यान मार्ने धम्की दिनुको साथै घर नै बमले उडाइदिने धम्की दिँदै उनले उक्त रकम मागेको प्रहरीले बताएको छ ।
चारैजना गोरखा निवासी हुन् । गोरखा सुलिकोट गाउँपालिका–४ का सोमबहादुर गुरुङ व्यवसायी हुन् भने वीरबहादुर गुरुङ पेट्रोल पम्पमा काम गर्दै आएको प्रहरीले बताएको छ । त्यसैगर गोरखाकै सुलिकोट–४ का सुनिल ढकाल संयुक्त यातायातका सह–चालक भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनीहरुले हाल काठमाडौँको खुशिबु बस्दै आएका गोरखा सुलिकोट–८ का सापकोटा थरका जग्गा व्यवसायीलाई भारतीय नम्बरबाट समेत फोन र म्यासेज गरेर धम्की दिँदै आएका थिए ।
चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।