बैशाख ४, काठमाडौं ।
विदेश जाँदै हुनुहुन्छ ? वा नेपाल फर्किंदै? अब धेरै पीर गर्नुपर्दैन। किनकी, नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल दिनकै २१ घण्टा सञ्चालनमा आउने भएको छ। आगामी जेठ पहिलो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा आउने घोषणा गरेका छन्। ‘सरकारले २४ सै घन्टा सञ्चालनमा ल्याउने तयारी गरेको हो,’ अधिकारीले भने, ‘तर हाललाई २४ घण्टा सञ्चालन गर्ने अवस्था नरहेकोले २१ घण्टा सञ्चालन गर्ने तयारी गरेका छौँ।’ मंगलबार काठमाडौंमा पर्यटनविद्हरूको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूको समूह बनाउने तयारी गरिएको पनि बताए।
सरकारले छिट्टै झापाको भद्रपुरमा राति विमान चलाउने व्यवस्था गर्दैछ। पोखरामा भने तत्काल सम्भव नरहेको पनि मन्त्री अधिकारीले स्पष्ट पारे। मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने महत्वकांक्षी योजना पनि अघि सारेका छन् । उनले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार मान्ने हो भने त्यसले कम्तिमा पनि २५ प्रतिशत योगदान दिनुपर्ने तर्क समेत गरे ।
सरकारी तथ्यांक अनुसार हाल नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २.८ प्रतिशत रहेको छ। मन्त्री अधिकारीले अब कम्तिमा २५ प्रतिशत योगदान पर्यटन क्षेत्रले दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले बनाइएका योजना कार्यान्वयन नहुँदा नेपालको पर्यटन क्षेत्रले प्रगति गर्न नसकेको पनि स्वीकार गरे। मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासलाई अघि बढाउन सरकारले विज्ञहरूसँग नियमित परामर्श गर्ने पनि बताएका छन्।