बैशाख ५, दाङ ।
संघिय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङमा बनाउने बिषयमा आफुहरु कुटनितिक र बैज्ञानिक ढंगले अघि बढेको बताएका छन् । जिल्ला समन्वय समिति दाङले बुधबार घोराहीमा आयोजना गरेको दाङको संवृद्धिका लागि दूरदर्शी योजना विषक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख महराले यस्तो बताएका हुन् ।
उनले दाङको एकीकृत विकासका लागि साझा पहल र ठोस योजनाको आवश्यक रहेको समेत बताएका छन । सभामुख महराले अबको गन्तव्य भनेकै संबृद्ध दाङ भएको दावि गरेका छन् ।
विकासका लागि बजेटको अभाव नहुने तर काम गर्दा हुने ढिलाईले समस्या निम्तिएको भन्दै सभामुख महराले अब विकासको युग आएको दावी गरे । उनले रणनैतिक महत्वका विषयलाई प्राथमिकतामा राखेर अब बिकासलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
दाङलाई अन्तरजिल्ला जोड्ने गरि अबको विकासलाई केन्द्रित गर्नेर त्यसले आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने बताए । सभामुख महराले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विबादमा ल्याउन खोजिएको प्रति सचेत रहन आग्रह गरे ।
कार्यक्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले अब बिबिधता सहितको विकास आवश्यक रहेको बताए । अभाव र पछि परेका स्थानको छनोट गरेर मात्रै अघि बढ्ने धारणा उनको छ ।
साथै उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अब प्रकृयागत ढंगबाट अघि बढ्ने र बिबादको बिषय नै नभएको स्पष्ट पारे । अब केन्द्र स्तरको प्रतिष्ठान, प्रदेश स्तरको अञ्चल अस्पताल र लमही अस्पताललाई तात्कालिक उपचार केन्द्रकारुपमा बिकास गरिने बताए ।