बैशाख ६, बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको तलब मासिक ६० हजार ९ सय ७० प्रस्ताव गरिएको छ । साथै मन्त्रीहरुको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ मासिक तलबको रुपमा तय हुने गरी कानुन बनाउन मन्त्रिपरिषद् बैठकले विधेयक स्वीकृत गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत गरेको पर्यटनमन्त्री लिला गिरीले जानकारी दिए ।
जसमा उल्लेख भएअनुसार प्रदेश सभाका सभामुखको मासिक तलब ५३ हजार, उपसभामुखको ५० हजार, सचेतकहरुको ४८ हजार र सांसद्हरुको ४५ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै मन्त्रीपरिषद् बैठकले प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेश सभामा पेश गर्न स्वीकृत गरेको छ ।