• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

जन्मकैदको सजाय भोगिरहेका बालकृष्ण ढुंगेल जेलमुक्त हुँदै, वैशाख ११ गते माओवादीको यस्तो छ तयारी ?


बैसाख ६, काठमाडौं ।
सदरखोर जेलमा रहेका माओवादी पूर्वसांसद बालकृष्ण ढुंगेल जेलमुक्त हुने संकेत देखिएको छ ।
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाउँदा पनि फरार रहेका ढुंगेललाई ६ महिना अघि प्रहरीले सातदोबाटोबाट पक्राउ गरी सदरखोरमा पठाएको थियो ।

गत चैत पहिलो साता गृहमन्त्री रामबहादुर थापा बादल ढुंगेललाई भेट्न सदरखोर पुगेका थिए । जेल निरिक्षणको नाममा पुगेका गृहमन्त्री बादलले जसरी पनि जेलमुक्त गराउने आश्वासन ढुंगेललाई दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसामु माओवादीले ढुंगेल उन्मुक्तिका लागि पनि प्रस्ताव गरेको छ । पार्टी एकताका प्राविधिक पक्षसहित ढुंगेल उन्मुक्तिलाई पनि प्राथमिकताका साथ माओवादीले छलफलमा ल्याएको स्रोतले जनाएको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर ११ वैशाखमा नै उनलाई आम माफी दिनुपर्ने माओवादीको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले ढुंगेल उन्मुक्तिलाई विशेष चासो नदिएपछि गृहमन्त्री बादलले केही समयअघि रोस प्रकट गरेका थिए ।

मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेरै उनलाई उन्मुक्ति दिनुपर्ने माओवादीले प्रस्ताव गर्दै आएको छ । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि सर्वोच्चले ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश समेत दिएको थियो । यसपछि प्रहरीले उनलाई पक्राउ गरी जेल पठाएको थियो ।

ढुंगेलले १२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्ने हुन्छ । तर, उनलाई ६ महिनामा नै निकाल्नका लागि सरकारमा माओवादीले कसरत गरी निर्णय गराउन लागेको छ ।

खासगरी ढुंगेल जेल गएपछि नेपाल कम्युनिस्ट पार्टीसहितका कम्युनिस्ट पार्टीहरुले बिरोध गर्दै आएका छन् भने उनको रिहाइको माग समेत गरिरहेका छन् । द्वन्द्वकालीन मुद्दालाई अरु मुद्दा जसरी हेर्न नमिल्ने भन्दै छुट्टै निर्णय गरेर भए पनि रिहाइ गर्न दवाब ब९िरहेका बेला सरकार पनि सकारात्मक देखिएको हो ।

ढुंगेल ०६४ सालमा ओखलढुंगाबाट सभासद्मा निर्वाचित भएका थिए । स्रोत: दैनिक नेपाल

प्रकाशित मिति : २०७५ बैशाख ६ गते बिहिवार