• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

अाेलीका दाहिने हात विष्णु पाैडेलद्धारा प्रचण्डको प्रधानमन्त्री र अध्यक्ष बन्न चाहेको मागलाई ठाडैं अस्वीकार


बैशाख ७, काठमाण्डाैं ।

नेकपा एमालेमा अध्यक्ष केपी अाेलीका दाहिने हात मानिने एमाले नेता विष्णु पाैडेलले प्रचण्डलार्इ प्रधानमन्त्री र पार्टी अध्यक्ष कुनै पनि हालतमा दिन नसकिने बताएका छन् ।

वाम गठबन्धन र एमाले–माओवादीबीच सहज सम्बन्ध बनाउन भूमिका खेलेका एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अगाडि सारेका मागलाई पूरा गर्न नसकिने स्पष्ट पारेका छन् ।

‘दुई नेताका बीचमा लिखित सहमति भएको हो, तर त्यसलाई हामीले बाहिर ल्याएनौं । अब लुकाइरहनु परेन । त्यो लिखित सहमतिमा चुनाव चिन्ह सूर्य लिएर लड्ने र पार्टी एकता गर्ने भन्ने उल्लेख गरिएको थियो’, पौडेलले एउटा मिडियालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘दुवै अध्यक्षले हस्ताक्षर गर्नुभएको थियो ।’

यसको अर्थ प्रचण्डले आफ्नै पार्टीलाई धोका दिँदै एमालेको सूर्य चिन्हमा सहमति गरेको पौडेलको भनाइ छ ।

‘त्यसपछि असोज १७ गतेसम्म हामी त्यही सहमति कार्यन्वयन गर्न लाग्यौं, तर यसबीचमा कठिनाइ आए । सूर्य चिन्ह लिने सहमतिबाट कमरेड प्रचण्ड पछि हट्नुभयो’, पौडेलले भनेका छन् ।

उनले वैशाख नौ गते पार्टी एकीकरण हुने सम्भावना अझै जीवित रहेको बताए । ‘९ गते पार्टी एकीकरण नहुनुपर्ने म कुनै कारण देख्दिनँ । आज पनि हामी ९ गतेअघि नै छौं । यो बीचमा पनि एकताको निम्ति समय खर्च गर्ने हो भने एकीकरण सम्भव छ’, पौडेलले भनेका छन् ।

‘दुवैजना अध्यक्ष रहने भनिए पनि ओली प्रधानमन्त्री भएकाले प्रचण्डले कार्यकारी भूमिका पाउनुपर्ने भन्ने आयो नि ?’ भन्ने प्रश्नको जवाफमा पौडेलले भनेका छन्, ‘योचाहिँ एउटा सहमति गर्ने, त्यसपछि अर्को शर्त अघि सार्ने तरिकाले एकता प्रक्रिया सहजरुपमा अघि बढ्न गाह्रो हुन्छ । मेरो भनाइ के हो भने, दुई अध्यक्ष समान हैसियतमा रहने, पालोपालो अध्यक्षता गर्ने भनेपछि समान हैसियत भइगो, यसमा को कार्यकारी र को सेरेमोनियल भन्ने प्रश्नै छैन ।’

‘केपी ओली यो कार्यकालका लागि प्रधानमन्त्री रहनुहुन्छ, ५ वर्ष नै रहनुहुन्छ, बीचमा हेरफेर हुँदैन भनेर भनिसक्नुभएको छ’, उनले भनेका छन्, ‘मिडियाबाटै हामीले यो प्रश्नको जवाफ पाएका छौं । त्यसैले प्रधानमन्त्री उहाँले बीचमा मागेको भन्ने कुरा मलाई पत्यार लाग्दैन ।’

पौडेलले भनेका छन्, ‘स्वयं कमरेड प्रचण्डले भन्नुभएको छ, केपी ओली ५ वर्ष नै प्रधानमन्त्री रहनुहुन्छ, बीचमा हेरफेर हुँदैन । अहिल्यै तपाई अध्यक्ष भनेर कसैले लिखित वा मौखिक रुपमा दिन मिल्दैन । केपी ओलीले अहिले नै प्रचण्डलाई अध्यक्ष बनाउने कुरा लेखेर दिने वा ग्यारेन्टी गर्ने भन्ने हुन्न ।’

‘जहाँसम्म एकताको विषय छ, दुई अध्यक्षबीच हुनुपर्ने छलफल, संयोजन समितिमा हुने छलफल त्यहाँ नगरेर मिडियामार्फत पोजिशन बनाउने कुरानै एकदम गलत हो । ५० प्रतिशत चाहिन्छ भने दुईटा अध्यक्ष बसेर कुरा गर्दा भयो नि । मिडियामा पोजिशन बनाउनुको तुक छैन’, एमालेका उपमहासचिव पौडेलले भनेका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख ७ गते शुक्रवार