बैशाख ८, काठमाडौं ।
पार्टी एकतालाई टुंगोमा पुर्याउन नसकेका नेकपा एमाले र माकेका शिर्ष नेताहरुले अाइतबार एउटै मंचबाट सम्बोधन गर्ने भएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डका साथै अरु शिर्ष नेताहरु एउटै मञ्चमा उभिने भएका छन् ।
अाइतबार अर्थात बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिन पारेर पार्टी एकता गर्ने घोषणा गरेका ओली र प्रचण्डले अब एकताबारे सन्देशमात्रै दिन सक्ने भएका छन् । जनता र कार्यकर्तालाई पार्टी प्रगतिको जानकारी गराउँनुको साथै एकतामा अाफूहरु प्रतिवद्ध रहेको घोषणा गर्ने संयुक्त कार्यक्रमको अायोजना गरिएको छ ।
प्रधानमन्त्री ओली भारत भ्रमण जानुअघि बैशाख ९ गते पार्टी एकताको मिति तय भएपनि विवादित विषयमा कुरा नमिल्दा एकता टुंगोमा पुग्न सकेको छैन ।
एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले सूचना जारी गरेर अाइतबार दिउँसो १२ बजे राष्ट्रिय सभामा कार्यक्रमको अायोजना गरिएको जानकारी गराएका छन् ।
जनयुद्ध, चुनाव चिन्ह र संगठनमा हिस्सामा कुरा अड्किएको छ । शुक्रबार भेट्न बालुवाटार पुगेका प्रचण्डलाई ओलीलाई जनयुद्ध र बराबरी कुनै पनि हालतमा मान्न नसकिने बताएका थिए । अन्तर्राष्ट्रिय शक्तिले जनयुद्ध शब्द नमालेको र बाराबारी हिस्साले एकता होइन अनेकता मात्रै जन्माउने भन्दै ओलीले प्रचण्डको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएका थिए ।