• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

पहिलो कार्यक्रममै एमाले-माओवादी केन्द्रबीच हानाहान ! दुईओटा व्यानरमा कार्यक्रम


वैशाख ९, काठमाडौं ।

पार्टी एकताको अन्तिम तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच पहिलो संयुक्त कार्यक्रममै विवाद उत्पन्‍न भएको छ । लेनिनको जन्म जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापनाको अबसरमा अायोजना गरिएको कार्यक्रमको व्यानरबारे विवाद उत्पन्‍न भएको हो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित कार्यक्रमको व्यानरमा लेनिनको फोटो राखिएको छैन । व्यानरमा एमालेले सधै प्रयोग गर्दै अाएको पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो थियो । त्यसैगरी व्यानरको एउटा कुनमा एमाले अध्यक्ष केपी ओली र माके अध्यक्ष प्रचण्डको फोटो राखिएको थियो ।

लेनिन जयन्तीमा लेनिनकै फोटो नभएपछि हलमा उपस्थित माके कार्यकर्ताहरुले विरोध गरेका थिए । सुरुमा नाराबाजी गर्दै व्यानर हटाउन खोजेका थिए । त्यसलगत्तै एमाले कार्यकर्ताहरुले रोकेका थिए ।

कार्यक्रम दिउँसो १२ बजे सुरु हुने भनिएको थियो तर व्यानर विवादकै कारण अहिलेसम्म सुरु हुन सकेको छैन ।
यसैबीच एमाले अध्यक्ष ओली र माके अध्यक्ष प्रचण्डले व्यानरबारे माफी मागेका छन् । यसमा अाफूहरुको गल्ती भएको भन्दै दुईओटा व्यानर राखेर कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

एमालेले धेरै पहिलेदेखि नै मार्क्स, एंगेल्स,लेनिन, माओको फोटो हटाइसकेको थियो ।
कम्युनिस्ट स्थापना दिवसमा एकताबारे सकारात्मक सन्देश दिने भन्दै अायोजना गरिएको कार्यक्रमबाट दुबै पार्टीका नेताहरुलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

यतिसम्मकी सुरुमै माकेका कार्यकर्ताहरुले व्यानर हटाउन खोज्दा एमाले कार्यकर्ताहरुले रोकेका थिए । दुबै पक्षबीच केही समय नाराबाजी र हुटिङ सुरु भयो । त्यतिबेला राष्ट्रिय सभागृहको वातावरण हानाहानको अवस्थामा पुगेको थियो । दुबै पार्टीका कार्यकर्ताहरुले एक अापसमा गाली गरिरहेका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख ९ गते आइतवार