• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

बराबरी हैसियतको अडान राखेको माओवादी अन्तत: पछि हट्यो, एकतामा पद तलमाथि हुने निश्कर्ष !


वैशाख १०, काठमाडौँ ।
एमालेसँगको एकीकरणमा बराबरीको अडान राखेको नेकपा माओवादी केन्द्र त्यसबाट पछि हटेको छ ।

माओवादी नेताहरूले बराबरीको सट्टा एमालेसँग सम्मानजनक एकीकरण हुनुपर्ने प्रस्ताव गरेका छन् । एकीकृत पार्टीमा कुन दलको कति सदस्य रहने भन्ने विवादका बीच माओवादी केन्द्रले एकताको आधार ‘सम्मानजनक’ हुनुपर्ने प्रस्ताव गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा एकताको विषयमा छलफल गर्न आइतबार बैठक बसेको थियो ।

एकता अङ्क गणितका आधारमा होइन, सम्मानजनक हुनुपर्छ भन्ने हिसाबले बैठकमा छलफल भएको माओवादी नेता विश्वनाथ साहले बताए । बैठकमा अध्यक्ष प्रचण्डले एकता हुँदा दुईचार पद तलमाथि हुनसक्ने बताएका थिए । दुई पार्टीबीच एकीकरण गर्ने सहमतिसँगै भएको चुनावमा एमालेले ६० प्रतिशत सिट र माओवादीले ४० प्रतिशत सिटमा चुनाव लडेका थिए । एमालेले अहिले एकीकरण प्रक्रिया पनि यही बाँडफाँटमा हुनुपर्ने प्रस्ताव गरेको छ भने माओवादी केन्द्रले ६०र४० को हिसाब चुनावका लागि मात्रै भएको दाबी गर्दै बराबरीको अडान राखेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले एकता संयोजन समितिको बैठक र त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन दिन लगातार भएका छलफलका विषयलाई बैठकमा ‘ब्रिफिङ’ गगरेका थिए । एकताका लागि प्रधानमन्त्री ओली सकारात्मक रहेको र यसलाई चाँडै टुङ्ग्याउनुपर्ने पक्षमा रहनुभएको पनि अध्यक्ष प्रचण्डले बैठकमा बताए ।

माओवादी प्रवक्ता पम्फा भुसालले कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि एकता संयोजन समिति र अध्यक्षद्वयको बीचमा व्यापक छलफल हुन बाँकी रहेकाले दुई पार्टीको एकताका लागि अझै केही समय लाग्ने बताए ।

प्रवक्ता भुसालले गृहकार्यका लागि केही समय लाग्ने भएकाले एकताको मिति ठ्याक्कै तोक्न नसकिनेसमेत बताइन् । उनले छलफलपछि दुई पार्टीका अध्यक्षको सहमतिमा एकताको मिति तोकिनेसमेत बताइन् ।

दुई फरक धारका पार्टीबीच एकीकरण हुन लागेको र त्यसमा हतारिन नहुने धारणा अध्यक्ष प्रचण्डले बैठकमा राखेको समेत प्रवक्ता भुसालले जानकारी दिए । “दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता हुन्छ र त्यो सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा हुन्छ”, अध्यक्ष प्रचण्डले बैठकमा भनेका थिए ।

एकीकरण प्रक्रियामा जनयुद्ध शब्दमा खासै विवाद नरहेको नेता साहले जानकारी दिए । पार्टी विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्न एमाले सकारात्मक भएको बताउँदै त्यसलाई कसरी राख्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको नेता साहले जानकारी दिए । उनले चुनाव चिह्नको विषयमा पनि खासै समस्या नरहेको बताए । यो खबर आजको गोरखापत्रमा छ । संकेतिक फोटो फाइल 

प्रकाशित मिति : २०७५ बैशाख १० गते सोमवार