• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

माधव नेपालले गरे सनसनीपूर्ण खुलासा- मदन भण्डारीको हत्या गरेर दासढुंगामा फालिएको हो, पार्टीभित्रै शंका !


बैसाख १२, काठमाडौं ।

नेकपा (एमाले) नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदन भण्डारीको मृत्यु दुर्घटनाबाट नभएर हत्या गरिएको बताएका छन् । नेता नेपालले विगतदेखि नै मदन भण्डारीको हत्या भएको अावाज उठाउँदै अाएपनि सार्वजनिक रुपमा भनेका थिएनन् । केही समयदेखि संचार माध्यम र सार्वजनिक रुपमै नेता नेपालले भण्डारीको हत्या गरेर दासढुंगामा फालिएको बताउँदै अाएका छन् ।

मंगलबार काठमाडौंको सुविधानगरमा भण्डारीको स्मृतिमा बनाइएको वाटिका र शालिक अनावरण गर्दै नेता नेपालले पछिल्लो पटक नेता नेपालले भण्डारीको मृत्यु दुर्घटना नभएर हत्या भएको दावी गरेका हुन् । उनको भनाईको सिधा अर्थ थियो, भण्डारीलाई हत्या गरेर दासढुंगामा शव फालिएको थियो । दुर्घटना नभएर हत्या भएको खुलेर भनेका नेता नेपालले कसले हत्या गरेको हो भन्नेमा भने केही बताएनन् ।

भण्डारीको हत्या पार्टीभित्रैबाट भएको भन्दै कार्यकर्ता र जनताले अावाज नउठाएका पनि होइनन् तर अझैं रहस्यको गर्भमै छ । मदन भण्डारीकी जीवनसाथी विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भइसक्दा पनि हत्यारा पत्ता लाग्‍न सकेका छैनन् । राष्ट्रपति भण्डारीले उल्टै एक कार्यक्रममा सबै प्रमाण नष्ट भइसकेका कारण हत्या नै हो भन्‍न नसकिने बताएकी थिइन् ।

नेता नेपालले भण्डारीको हत्या नै भएको बताउँदै अाएपनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ‌ओली भने मौन बस्दै अाएका छन् । म‌ंगलबार नेता नेपालले हत्या गरेको ठोकुवा गरेपनि हत्याराबारे केही नबताएपछि फेरि पार्टीभित्रै शंका उत्पन्न भएको छ ।

मंगलबार अनावरण गरिएको मदन भण्डारीको शालिक लक्ष्मण भुजेलले बनाएका हुन् । ३ रोपनी १३ आना क्षेत्रफलमा बाटिका फैलिएको संरक्षक अग्नी खरेलले बताए । वाटिका काठमाडौ महानगरपालिका र काठमाडौ नगर विसका प्राधिकरणको संयुक्त लगानीमा बनाइएको हो ।

एमालेका तत्कालिन महासचिव भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख १२ गते बुधवार