वैशाख १२, काठमाडौँ ।
अमेरिकामा अवैधानिक रुपमा बसेका नागरिकलाई अमेरिका सरकारले दिएको टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा अब नविकरण नहुने सम्भावना बढ्दै गएको छ ।
अमेरिकामा अवैधानिक तवरले बस्दै आएका नेपाली नागरिकले पनि २०७२ सालको भूकम्पपछि यो सुविधा लिएका थिए । तर, पुनःनविकरण नहुने भएपछि त्यहाँ बस्दै आएका नेपालीहरुलाई पनि ठूलो चिन्ताको विषय बन्न थालेको छ । नेपालीहरुले भूकम्पपीडित भएको कागजातका आधारमा त्यो सुविधा पाएका थिए । अमेरिकाले विभिन्न प्राकृतिक प्रकोपमा परेकाहलाई यो सुविधा दिएको थियो ।
अमेरिकी पत्रिका द वासिङटन पोष्टको अनलाइन संस्करणका अनुसार ट्रम्प सरकारले ‘टीपीएस’ खारेज गर्ने तयारी गरेको छ । हाल अमेरिकामा १४ हजार ७९१ नेपालीले टीपीएस सुबिधा लिएर बसोबास गर्दै आएका छन् । टीपीएस सुविधा लिएकाहरुले ओर्कपर्मिट र नेपाल ओहोरदोहोर गर्न पाउँछन् ।
जुन २४ मा दोस्रो नविकरणको म्याद सकिँदै छ। २६ अप्रिलसम्म नविकरण भइसक्नु पर्ने भए पनि अहिलेसम्म कुनै सम्भावना देखिएको छैन ।
यदी यो सुविधा खारेज भएमा एक वर्षभित्र त्यहाँ बस्ने नेपालीलगायत १३ वटा देशका नागरिकले अमेरिका छाडनु पर्ने हुन्छ ।
अमेरिकामा नेपाल लगायत १३ देशका ४ लाख ७० हजारभन्दा बढी नागरिकहरु टीपीएस सुविधा लिएर बसोबास गर्दै आएका छन् ।