बैशाख १९, धादिङ ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका २ स्थित हुलाकडाँडामा भएको दुर्घटनापछि ट्रकमा आगलागी भएको छ ।
बुधबार बिहान मुग्लिनबाट काठमाडौंतर्फ आइरहेको ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किन पुगेको थियो ।
दुर्घटनालगत्तै काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको नेपाली सेनाको बा २ ग २४६३ नम्बरको अर्को ट्रकले दुर्घटनापछि रोकिराखेको ट्रकलाई ठक्कर दिन पुगेको प्रहरीले जनाएको छ ।
सेनाको ट्रकले ठक्कर दिएपछि रोकिराखिएको ना ६ ख २७८१ नम्बरको ट्रकमा आगलागी हुन पुगेको बताइएको छ ।
आगलागीबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने मोटरसाइकल चालक घाइते हुनुबाहेक अन्य मानवीय क्षति नभएको जिल्ला प्रहरी धादिङले जनाएको छ ।
आगलागीपछि केहिबेर राजमार्ग समेत अबरुद्ध हुन पुगेको बताइएको छ ।