• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

लेखेर राख्नुस् प्रधानमन्त्री भएरै छाड्छु : नायिका रेखा थापा


बैसाख १९,  काठमाडौं ।

चलचित्र क्षेत्रमा होस् या राजनीतिमा नायिका रेखा थापाले हात हालेको ठाउँ निकै चर्चामा आउने गर्छन् ।

एक–दुई वर्षअघि नेपाली राजनीतिमा प्रवेश गरेर केहि मत्थर बनेकी नायिका रेखा थापामा अझै पनि राजनीतिको रङ्ग भने भेटिने गरेको छ । राजनीतिमा लागेर पनि फेरि चलचित्र क्षेत्रमै कम व्याक भएकी रेखाले राजनीतिको नशालाई भने बिर्सिन सकेकी छैनन् ।

उनको राजनीतिक यात्रा सफल र राम्रोसँग अघि नबढेको सर्वसाधरण जानकार भए पनि उनी भने आफूलाई राजनीतिमा असफल नभएको दावी गर्छिन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम बोल्दै उनले राजनीतिबारे र आफ्नो राजनीतिक यात्राबारे खुलेर धारणा राखेकी छन् । आफू जुनसुकै काममा पनि दृढ भएर लाग्ने गरेको दावी गर्दै उनले भनिन्, ‘कुनै दिन म यो देशको प्रधानमन्त्री बनेर छाड्छु, लेखेर राख्नुस् एक दिन म यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु ।’

कोटा वा किस्तीमा दिइएको पदले नभई आफ्नै क्षमताका आधारमा प्रतिष्पर्धामार्फत आफू देशको नेतृत्व तहमा पुग्ने दाबी थापाले गरिन् । चुनावमा महिलालाई प्रत्यक्षतर्फ नलडाएर समानुपातिकमा मात्रै राखिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरेकी छिन् ।

‘म जस्ता धेरै नारीहरु छन्, जो देशको नेतृत्व गर्ने क्षमता राख्दछन् । म प्रधानमन्त्रीको लायक छु । बनेरै छाड्छु’, उनले भनिन् । पहिला माओवादी केन्द्रका प्रचण्ड निकट, अहिले पशुपतिशमशेर राणा निकट, यसरी पार्टी फेर्दै हिंड्ने मान्छे कसरी देशको नेतृत्व गर्ने ठाउँमा पुगिन्छ भन्ने प्रश्नमा नायिका थापाले भनिन्, ‘प्रचण्ड पनि यहि देशका नागरिक हुन्, पशुपतिशमशेर पनि यहि देशका । म विदेशी मान्छेसँग त छैन नि ।’

जोसँग नजिक भए पनि देशकै लागि केही गर्ने चाहना भएको उनको दाबी छ । दलहरुको सिद्धान्त हेरेर नजिक भए पनि ती सिद्धान्त कागजी रुपमा मात्रै भएको व्यवहारिक रुपमा नभएको उनको आरोप छ । उनले थपिन्, ‘कागजी सिद्धान्तले जनताको आँखामा छारो हाल्ने काम गर्न त भएन नि ।’ रेखा थापाले कुनै दिन देशको प्रधानमन्त्री बन्ने दावी गरे पनि प्रधानमन्त्री बन्नका लागि सांसद भईसकेको हुनुपर्ने व्यवस्था छ । आशा गरौं उनको चाहना र लगनशिलता यो दिशातर्फ चाँडै नै अघि बढ्ने छ ।

प्रकाशित मिति : २०७५ बैशाख १९ गते बुधवार