बैशाख २१, दाङ ।
दाङ तुलसीपुरको ब्यस्त चोक विरेन्द्र चोकमा स्वर्गीय पूर्व राजा विरेन्द्र विरविक्रम शाहको शालिक (मुर्ति) राख्ने तयारी गरिएको छ । शालिक हटाएको १२ बर्षपछि पुनः राख्ने तयारी गरीएको हो ।
जनआन्दोलन २०६२—६३ मा तत्कालीन माओवादी कार्यकर्ताले तुलसीपुर बजारको मुख्य भागमा रहेको पूर्वराज विरेन्द्र शाहको शालीक तोडफोड गरेर हटाई दिएका थिए । शालिक हटाएको ठाउँलाई अहिले पनि विरेन्द्र चोकको नामले नै चिन्ने गरिन्छ । शालिक हटाएपछि विरेन्द्र चोक अहिले मूर्ति विनाको स्ट्याण्ड (अड्याउने ठाउँ) मात्रै रहेको छ ।
यसको संरक्षण र व्यवस्थापनको जिम्मावारी पाएको तुलसीपुर उपमहानगरपालिका – ५ नम्बर वडाले पूर्वराजा विरेन्द्रको शालिक राख्ने तयारी गरेको रहस्य सार्वजनिक भएको हो । वडाले जीर्णोद्धार गरि त्यही ठाउँमा राजा विरेन्द्रको शालिक राख्नका लागि छलफल गरिरहको वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिए ।
इतिहासलाई मेटाउने काम कसैले पनि गर्नु नहुने बताउदै अध्यक्ष शाहले बनाउन नसक्नेले विगार्न पनि नहुने बताए । ‘कुख्यात तानाशाह हिटलरको चर्चा अहिले पनि विश्वमा गरिन्छ । ‘उनका शालिकहरु अहिले पनि संरक्षण गरेर राखीएको छ ,’ अध्यक्ष शाहले उदाहरण दिदै भने ‘राजा विरेन्द्रले के नै गरेका थिए र इतिहास त मेटाएर मेटीदैन नि ।’ पुरानो शालिक राख्ने कि नयाँ बनाउने भन्ने विषयमा छलफल भइरहेको वडा कार्यालयले बताएको छ । अध्यक्ष शाहले राजा विरेन्द्रको शालिक नरहेमा विपिचोक र मदन आश्रीत चोक पनि नहरने बताए । श्रोतः तुलसिपुर खबर