• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

६ सय मिटर तल खोलाबाट खानेपानी तानेपछि सल्यानमा चल्यो भोजभतेर


बैशाख २१, सल्यान ।
सल्यानको दार्मा गाँउपालिका वडा नम्बर ६ चिफ्लेमा सोलार लिफ्टमार्फत खानेपानी लगिएपछि खुसीयालीमा भोजभतेर गरिएको छ ।

३० घरधुरीलाई लक्ष्य गरी चिफ्ले लिफ्ट खानेपानी योजनामार्फत स्थानीय कैलासी खोलाबाट करिब ६०० मिटर माथि पानी तानिएको हो । गाउँपालिकाको र स्थानीयको जनश्रमदान ३० लाख रकमको लागतमा गाउँमा खानेपानी ल्याइएको छ । पानी तान्न ३६ सय वाट सोलार सिस्टम प्रयोग गरिएको छ । लामो दूरीबाट पानी बोकेर खाने गरेका स्थानीयहरु आँगनमै खानेपानी पुगेपछि दंग परेका छन् ।

गाउँमै यसरी खानेपानी आउला भनेर नसोचेको स्थानीय ८० वर्षिय लालमणि शर्माले बताए । उनले भने— “८० वर्षको उमेर भयो अहिलेसम्म एक घण्टाको कैलाँसी खोलाबाट पानी बोकेर खाइरहेका थियौ । एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो । बुढेसकाल लागेको बेला गाउँमै यसरी खानेपानी आउला भनेर सोचेको पनि थिइन । अब खोलाको पानी तानेर खान पाइने भयो ।”

गाउँमा खानेपानीको धारा समेत नदेखिएको अबस्थामा घरमै धारा आएपछि आफु ढंग परेको अर्का स्थानीय राम प्रसाद शर्माले वताए । उनले भने — “हाम्रो घरमा पानीको धारा देख्न पाइन्छ भन्ने आशा थिएन । तर आटँ गर्ने हो भने असम्भव भन्ने चिज केही हुँदो रहेनछ ।”

अहिले सम्म उक्त ठाँउका स्थानियले आफ्नो गाउँमा पानीको धारा सम्म पनि देख्न नपाएको र यस खानेपानीले गर्दा अब पानीको झन्झट सदाका लागि टर्ने विश्वास स्थानियहरुको छ । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा आफैले जिताएर पठाएका जनप्रतिनीधिहरुले खाने पानी पुर्याइदिएको भन्दै स्थानीबासीले खुसियालीमा जनप्रतिनिधिलाई भब्य स्वागत र भोजको समेत ब्यवस्था समेत गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार