• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

नेकपाले आव्हान गरेको आजको बन्दमा माओवादी केन्द्रको पनि समर्थन : बिहानैदेखि सडक सुनसान, ठाउँठाउँमा बम विस्फोट


बैशाख २२, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको नेपाल बन्दको कारण विहानैदेखि सडक सुनसान बनेका छन् । बन्दका कारण राजधानी काठमाडौंसहित विराटनगर, हेटौंडा, नेपालगंज, धनगढीसहित ठूला शहर सुनसान छन् । विहानैबाट खुल्ने पसलहरु बन्दै नै छन् भने सडकमा एम्बुलेन्‍स, तरकारी, दूधका गाडी मात्रै देखिएका छन् ।

काठमाडौंबाट देशका विभिन्‍न स्थानमा छुट्‍ने लामो दुरीका सवारी यातायातका साधनहरु पनि बन्द नै छन् । बस पार्कमा सुनसान छन् ।

विहानै चितवनको भण्डारामा शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले गराएको विस्फोटबाट मानविय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

त्यसैगरी बन्दका कारण सुनसान बनेको कैलालीका विभिन्‍न स्थानहरुमा बम विस्फोट भएका विवरण अाएका छन् । सात नम्बर प्रदेशको राजधानी धनगढीको चौराहासहित बजारभित्रै दुई ठाउँमा बम विस्फोट भएका छन् । कैलालीकै गौरीगंगा नगरपालिकामा बम विस्फोट भएको स्थानीयले कमर थारुले जानकारी दिएका छन् । थारुका अनुसार अाज विहानै ठूलो विस्फोटको अावाज अाएको थियो ।

त्यस्तै मध्यरात लमजुङको मर्स्याङ्ग्दी गाउँपालिकास्थित मध्यरातमा भारतीय जिएमअार कम्पनीको कार्यालयको भवनमा बम बिस्फोट भएको छ । विस्फोटबाट कार्यालमा क्षति पुगेको छ ।
बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले देशभर मशाल जुलुस निकालेका थिए । सोही क्रममा प्युठान र बाग्लुङ इन्चार्जसहित दर्जनभन्दा बढी नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

अाफ्नो पार्टीमाथि शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर सरकार फसिवादी बाटोमा हिडेको भन्दै नेकपाका महासचिव विप्लवले विज्ञप्ति निकालेर नेपाल बन्दको घोषणा गरेका थिए । शान्तिपूर्ण राजनीतिक गतिविधिमा रहेका नेताहरुलाई सरकारले गिरफ्तार गरेर वेपत्ता बनाएको भन्दै विप्लवले गिरफ्तार सबै नेता-कार्यकर्ताको रिहाइको माग समेत गरेका छन् ।

बन्दलाई माओवादी केन्द्रको समर्थन

यसैबीच पुनर्गठित माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले वैशाख २२ गतेका लागि नेकपाले आह्वान गरेको नेपाल बन्दलाई समर्थन गरेका छन् । मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता किराँतीले सरकार र नेकपाबीच वार्ता हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

‘नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महान् जनयुद्धद्वारा स्थापित क्रान्तिका मुद्दाहरू कार्यान्वयन गर्न सङ्घर्षरत राजनीतिक सङ्गठन हो । तर चारु मजुमदारको रगत पिउने ज्योति वसुको भूत सवार खड्ग ओली सरकारले नेकपामाथि अघोषित प्रतिबन्ध लगाएर त्यसका नेताहरूविरुद्ध मुद्दा हाल्ने, गिरफ्तार गर्ने, बेपत्ता पार्नेजस्ता जघन्य दमन गरिरहेको छ ।’ उनले विज्ञप्तिमा भनेका छन्, -‘माओवादी कम्युनिस्ट मास्ने दलाल पुँजीवादी राज्य दमनविरुद्ध नेकपाद्वारा आयोजित ‘नेपाल बन्द कार्यक्रम’ लाई नीतिगत समर्थन गर्दै नेपाल सरकार–नेकपा वार्ताका लागि आह्वान गर्छ ।’

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार