• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

बझाङमा ठुलो बाढी आयो : ३ जनाको मृत्यु , २ बेपत्ता


बैशाख २३, बझाङ ।

बझाङमा असिना–पानीसँगै फेरि बाढी आएको छ । शनिबार राति परेको बाढी र असिनाका कारण ३ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता भएका छन् ।

स्थानीय ढोड्या खेत बजारबाट घर फर्कने क्रममा गुहे खोलामा आएको बाढीले बगाउँदा थलारा गाउँपालिका–४ का एकै परिवारका २ जनाको मृत्यू भएको छ भने २ बालबालिका बेपत्ता छन् । मृत्यु हुनेमा थलारा गाउँपालिका–४ का २८ वर्षीय हर्क विक, उनकी श्रीमती २५ वर्षीया डल्लीदेवी विकको र उनीहरुसँगै रहेकी सोही गाउँकी ३५ वर्षीया कलसा विकको पनि बाढीले बगाएर मृत्यू भएको छ । हर्कका ३ वर्षीय छोरा सक्षम र ६ वर्षकी छोरी मनिसा बेपत्ता छन् ।

उक्त घटना राति ९/१० बजेतिर भएपनि आइतबार बिहान ९ बजेतिर शव फेला परेपछि मात्रै थाहा भएको हो । केही दिन अघि ससुराली गएका हर्क विकको परिवार घर फर्कने क्रममा बाढीमा परेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले जानकारी दिए । अहिले इलाका प्रहरी चौकी थलाराको टोली र गाउँपालिका अध्यक्षसहितका जनप्रतनिधि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असिना पानीसंगै आएको बाढीले केदारस्यूँ गाँउपालिकाको सुडीखोलामा २ घर बगाएको छ । घरभित्र भएको धनमाल र ९ वटा बाख्रा मरेका छन् ।

असिना पानीसंगै आएको बाढीले जयपृथ्वी राजमार्ग अन्र्तगत पर्ने केदारस्यूँ गाँउपालिकाको सुडिखोला खण्डमा माटो थुप्रिएपछि शनिबार रातिदेखि नै यातायात बन्द भएको छ ।

यसअघि बैशाख १९ गते आएको असिना र बाढीले ठुलो धनजनको क्षती भएको थियो भने बाढीले जिप बगाउँदा तीन जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार