वैशाख २४, काठमाडाैं ।
नेकपा (माओवादी केन्द्र)का प्रचण्डले केही दिनभित्रै एमालेसँगको एकता टुंगोमा पुग्ने बताएका छन् । उनले पार्टी एकता संयोजन समिति बैठकले एकताको बाँकी काम सक्ने बताउँदै छिट्टै एकता हुने बताए ।
सोमबार विहान सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै पार्टीको संसदीय दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भइरहेको जानकारी दिए । उनले दुबै पार्टीको सम्मानजनक एकता हुने दाबी गरे ।
दलका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँडका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको गुरुङले बताए ।