• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

मोदीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन् : माअाेवादी नेता सापकोटा


बैशाख २५, काठमाडौं ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल बनाउने स्पष्ट पारेका छन्। उनले भने,‘मोदीजीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन्, हामी सफल बनाउँछौं ।’

काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता सापकोटाले मोदीको भ्रमण सफल बनाउन सरकार पूर्ण रुपमा लागिपर्ने बताएका हुन् । उनले भने,‘विगतमा नेपालका प्रधानमन्त्रीहरु दिल्ली जाने परम्परा थियो, तर भारतका प्रधानमन्त्रीहरु अहिले नेपाल आउन थाल्नुभएको छ, अहिले भ्रमणहरु दोहोरो हुन थालेका छन्, यो सुखद् पक्ष हो ।’

आयोजित सो साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय सम्वादहरु उच्च तहमा पनि सुरु भएको जनाए । उनले भने,‘अहिले त दुई देशबीच राजनीतिक तहमा नै सम्वादहरु हुन थालेका छन्, यो राम्रो पक्ष हो।’

मुलुकको आन्तरिक नीतिको विस्तारित रुप नै कुटनीति भएकोले सबै दलहरु एक ठाउँमा उभिनुपर्ने नेता सापकोटाको भनाई थियो । उनले थपे,‘समानताका आधारमा हामीले आफ्नो कुटनीतिक सम्बन्धलाई अघि बढाउने हो, आफ्नो स्वाभिमानलाई सँधै उँचो राख्दै अघि बढ्नुपर्छ, तर विदेश नीतिमा सबै दलहरुवीच एकता हुनुपर्छ।’

जनकपुरबाट सुरु हुने मोदीको नेपाल भ्रमण ताका बिहंगम छलफल हुने उनको विश्वास थियो । उनले भने,‘उहाँको भ्रमण ताका नेपाल–भारत द्धिपक्षीय सम्बन्धका बारेमा बिहंगम छलफल हुन्छ, उहाँको भ्रमणबाट नेपालले आफ्नो हितमा फाईदा लिनुपर्छ, सरकारले त्यतातिर ध्यान दिएको छ।’

त्यस्तै उनले नेपाल विश्वकै दुई ठूला उदयीमान अर्थतन्त्र भएका देश भारत र चीनको बीचमा रहेकोले आगामी दिनमा त्रि–देशीय साझेदारी पनि अघि बढ्ने विश्वास दिलाए । उनले थपे,‘नेपाल सँधै गरिब नै रह्यो भने भारत र चीनको वैभवमापनि असर पर्छ, उहाँहरुले पनि अहिले नेपाललाई खुल्ला हृदयले सहयोग गर्नेगरि हात बढाउनुभएको छ, दुवै देशबाट मुलुकको हित हुनेगरि हामीले फाईदा लिनुपर्छ, यसकोलागि हामी सबै एकतावद्ध हुन जरुरी छ।’

मोदीको भ्रमण बहुआयामिक रुपमा पनि महत्वपूर्ण रहेको उनको तर्क थियो । उनले पूनः दोहोर्याएर भने,‘उहाँको भ्रमण सफल बनाउनको लागि सिँगो नेपाली जनता लागिपर्छन्, किनकी पाहुना भनेको त देवातासरी हुन्छ, हामी कुनै आग्रह वा पूर्वाग्रह नराखी उहाँलाई स्वागत गर्छौं, किनकी नेपालीहरुले महानता प्रर्दशन गर्नसक्छन्।’

मोदीको भ्रमण सफल बनाउनको लागि नेपालले कुटनीतिक कौशलता प्रर्दशन गर्नुपर्ने उनको धारणा छ । उनले भने,‘हामी सबैले को सत्तापक्ष को प्रतिपक्ष नभनी खुल्ला, सिधा र स्पष्ट रुपमा कुरा राख्नुपर्छ, कांग्रेसपनि अब प्रतिपक्षी भनेर बस्नुहुँदैन, परराष्ट्र नीतिमा हामी सबैको एकरुपता हुनुपर्छ, हामी अहिले नयाँ युगमा प्रवेश गरेका छौं।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन नेपाल भ्रमणलाई आफ्नो पार्टीले स्वागत गर्ने बताउँदै भ्रमण सफल बनाउने विश्वास दिलाए । यद्धपी उनले भ्रमण सफल बनाउन कुनै कसर बाँकी नराख्ने काम चाहीँ सरकारको भएको प्रतिक्रिया दिए ।

नेता साउदले मोदीको भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा थप हार्दिकता आउने पनि विश्वास दिलाए । उनले भने,‘भ्रमण सफल बनाउनको लागि सरकारले यथेष्ट गृहकार्य गर्नुपर्छ, सायद गरेको होला पनि, भ्रमणलाई उच्चतम हितमा प्रयोग गर्नुपर्छ।’

नेता साउदले मोदीको भ्रमण औपचारिक रुपमा काठमाडौंबाट भएको भए राम्रो हुनेथियो भन्ने प्रतिक्रिया दिए । उनले थपे,‘औपचारिक भ्रमण काठमाडौंबाट सुरु भएको भए राम्रो हुनेथियो, काठमाडौंपछि जनकपुर हुँदै मुक्तिनाथ गएको भए राम्रो हुनेथियो, किनकी केन्द्रीय सरकार त काठमाडौंमा छ, जे भएपनि उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ।’

यसअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि यसपटक केहीपनि नयाँ सम्झौता नहुने भनेर गएको भएपनि नेपाल र नेपालीहरुलाई झुक्याएको उनको गुनासो थियो ।

उनले थपे,‘भारत उड्नुअघिसम्म उहाँले यसपटक नयाँ केही हुँदैन भन्नुभएको थियो, तर उहाँले जलमार्ग र रेलमार्ग लगायतका सम्झौता गर्नुभयो, उहाँले हामीलाई झुक्याउनुभयो।’

मोदीको भ्रमणलाई नेपाल सरकारले पारदर्शी बनाउनुपर्ने पनि उनको सुझाव छ । उनले थपे,‘भ्रमणबाट नेपाली जनताले के–के पाए ? अथवा के के दिए ? अथवा राष्ट्रिय हितमा काम भयो कि भएन भन्नेबारे सरकारले पारदर्शीता अपाउनुपर्छ।’ त्यतिमात्रै नभएर मोदी भ्रमणबारे जारी संसदलाईपनि यथेष्ट जानकारी वर्तमान सरकारले गराउनुपर्ने उनले जिकिर गरे ।

उनले नेपालमा हुँदा ठूला कुरा गर्ने दिल्लीमा जाँदा लम्पसार हुने अथवा ‘बोनलेस’ हुन नहुने सुझाव प्रधानमन्त्री ओलीलाई दिए । भारतसँग रहेको डरलाग्दो व्यापार घाटा घटाउनको लागि सरकारले आफ्नो संभावनाका क्षेत्रहरु पहिल्याउनुपर्ने पनि नेता साउदको सुझाव छ ।

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सांसद मनिष सुमनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सर्वोच्च नेता भएकोले उनको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल पार्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले थपे,‘यही बैशाख २८ गते उहाँले जनकपुरमा पहिलो पटक पाईला टेक्दैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो, तर कसैलाई निरर्थक ईस्र्या लाग्नुको कुनै तुक छैन, ईष्र्या लागे लागिरहोस्।’

नेपाल र भारतबीच ऐतिहाँसिक र अटुट सम्बन्ध रहेको बताउँदै मोदी दुई देशका जनता–जनताबीचको सम्बन्धलाई झनै मजबुद बनाउनको लागि जनकपुर भ्रमण भएको नेता सुमनले विश्वास दिलाए । उनले भने,‘प्रदेश नम्बर २ का सम्पूर्ण वासीहरु उहाँलाई भव्य स्वागत गर्नको लागि आँतुर छन्, अहिले जनकपुरका पर्खालहरु यहाँका सामाजिक–साँस्कृतिक परम्परा झल्किनेगरि रँगिएका छन्, शहर सफा भएको छ।’

मोदीको सम्मानमा आयोजना गरिने नागरिक अभिनन्दनमा लाखौं लाख जनता सम्मान गरिने स्थल रंगभुमी मैदान (१२ विघा) मा उत्रिने पनि उनको ठोकुवा थियो । उनले भने,‘२ नम्बर प्रदेशका सबै जिल्लावासीहरु उहाँलाई अभिनन्दन गर्न आँतुर हुनुहुन्छ, एक हिसाबले भन्ने हो भने यो हाम्रो लागि बहुप्रतिक्षित भ्रमण हो।’ मोदीले यसअघि दुई पटक नेपाल भ्रमण गर्दा जनकपुर जान चाहेको बताएपनि जान नसकेकोले यसपटक उनको महान उद्देश्य पूरा गर्नेगरि जनकपुर आउन लागेको नेता सुमनले स्पष्ट पारे ।

भारत विश्वकै प्रगतिशील देश भएको बताउँदै उनले भने,‘भारतसँग हाम्रो विशिष्ट सम्बन्ध छ, भारतलाई गाली गरेर बढि राष्ट्रवादी भईदैन्, सियोदेखि मच्छड मार्ने धुपसम्म भारतकै प्रयोग हुन्छ, सिमा नाकामा मधेशी जनताले धर्ना दिँदा मित्रराष्ट्र भारतको बद्नाम गर्न खोजियो ।’ २६ लाख नेपाली चेली भारतीय आमा, भाउजु र बुहारी भएको बताउँदै उनले थपे,‘त्यतिमात्रै होईन २२ लाख भारतीय चेलीहरुपनि नेपालका आमा, भाउजु र बुहारी हुन्, हामीबीच घनिष्ठ सम्बन्ध छ।’

उनले नेपाल–भारतबीचको सिमा विवादवारे भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा छलफल गर्न कुनै आवश्यक नरहेको जिकिर गरे । उनले भने,‘यस विषयमा सम्बन्धित निकायहरुवीच छलफल भैरहेको कुरा हो, अब मोदीसँग कुरा गर्न जरुरी छैन।’ यद्धपी उनले भ्रमणको बेला मोदीसँग व्यापार घाटा कम गर्न र रोजगारी वृद्धि, लगानीको विषयमा छलफल गर्न सरकारलाई सुझाए ।

त्यस्तै उनले भुटानी शरणार्थीको विषयमा मोदीसँग कुरा गर्नु कुटनीतिक मर्यादा विपरितको कुरा हुने पनि जिकिर गरे । उनले भने,‘यो समस्या नेपाल र भुटानबीचको विषय हो, यसमा भारतीय प्रधानमन्त्रीलाई मुछ्न आवश्यक छैन्।’ भुटानी शरणार्थीहरु आफ्नो देश भुटान फर्किन भन्दापनि अमेरिका जाँन आँतुर रहेको उनले आरोप लगाए । ‘शरणार्थी नेता टेकनाथ रिजाल एक्लै उफ्रिएर केही हुँदैन्’ उनले थपे ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले भने,‘मोदी आँफैपनि धार्मिक व्यक्ति हुन्, उहाँ नेपाल आउनुको कारण नेपाली भुमि धार्मिक हो, मोदीले नेपाललाई पुण्यभुमि ठानेका छन् ।’

डा. दिक्षितले मोदीले नेपालको अहित हुने काम गर्नै नसक्ने पनि ठोकुवा गरे । उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीको हातमा धेरै शक्ति छ, भारत र नेपाल दुवै देशमा यतिवेला दिगो सरकार छन्, मोदी र ओलीजीले धेरै काम गर्न सक्नुहुन्छ।’ नेपालले अब नकारात्मक कुराहरु गर्न नहुने उनको सुझाव छ ।
ओली र मोदी दुवै नेताको हात बलियो रहेकोले अब देशलाई फाईदा हुने दिशातर्फ सरकार अघि बढ्नुपर्ने उनको भनाई छ । उनले भने,‘नेपाल–भारत सम्बन्ध असाध्यै राम्रो छ, भारतसँग हाम्रो अन्र्तराष्ट्रिय र घनिष्ठ दुवै सम्बन्ध छ, दुवैलाई मिलाएर जानुपर्छ।’

उनले भारतलाई सुरक्षाको चासो र नेपाललाई विकासको चासो रहेकोले आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई मजबुद बनाउँदै लैजानुपर्ने धारणा राखे । दिक्षितले अब विगतका कुराहरु कसैलेपनि कोट्याउन नहुने सुझाव दिए ।

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार