वैशाख २५ जनकपुर ।
भारतीय वायु सेनाको विशेष विमान जनकपुर आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको चार दिन पहिले सुरक्षाकर्मी बोकेर सो विमान सोमबार आइपुगेको हो ।
भारतीय सेना बोकेर विमान सोमबार दिउँसो सवा १ बजे जनकपुर विमानस्थलमा अवतरण गरेको बताइएको छ । विमान मोदीको सुरक्षा अवस्थामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरु जनकपुरमै छन् । विमान जनकपुरस्थित विमानस्थलमै राखिएको छ । मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनकपुर आएको जनकपुरका सुरक्षा अधिकारीहरुले बताएका छन् ।
दुई दिने नेपाल भ्रमणका लागि मोदी २८ शुक्रबार हेलिकप्टरबाट जनकपुर आउँदैछन् । प्रधानमन्त्री मोदीको सुरक्षालाई लिएर जनकपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरको बिभिन्न स्थानमा सुरक्षामा कडाई गरिनुका साथै राजमार्गमा चेकजाँच बढाइएको छ । मोदी भ्रमणलाई लिएर जनकपुरलाई तीव्र रुपमा सिँगारिएको छ ।
दुई दिन सार्वसाधारणलाई प्रवेशमा
स्थानीय प्रशासनले मुक्तिनाथ मन्दिरमा दुई दिन सार्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले २८ र २९ गते सार्वसाधारणलाई मन्दिर प्रवेशमै रोक लगाएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ गते नेपाल आउने र २९ गते मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम छ । तर, स्थानीय प्रशासनले सुरक्षाका लागि भन्दै २८ गतेबाटै सार्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको छ ।
साथै थोरङ्ला पास हुँदै मनाङतर्फ आउन पनि पदयात्रीहरुलाई रोक लगाइएको जिप्रकाले जनाएको छ ।