• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

मोदीलाई स्वागत गर्दै प्रदेश २ का मुख्यमन्त्रीले भने- “नेपालको संविधान ठिक छैन्”


बैशाख २८, जनकपुर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान ठिक नभएको बताएका छन् । उनले आफुहरुलाई संविधानले विभेद गरेको बताएका हुन् ।

उनले भने, ‘हामी नेपालको अभिन्न अंग हौँ । तर, हामी अहिले पनि सहज अवसरबाट टाढा छौँ । जसरी गरीब भएर पनि मोदी भारतमा प्रधानमन्त्री भए । तर हामी त्यो अवस्थामा छैनौँ । हामी पनि सर्वोच्च निकायमा पुग्न चाहन्छौँ ।’

उनले नेपाल सरकारको विभेदकारी मानसिकताको कारण मधेशी समुदाय गरीबी र शोषित पीडित जीवन बाच्न बाध्य भएको बताए । रावतले दुई नम्बर प्रदेशको विकासका लागि रामविवाहको बाटो खोल्नुपर्ने माग राखे ।

आफ्नो प्रदेश आर्थिक रुपमा विपन्न भएकाले यसको विकासको लागि भारतले सहयोग गर्नुपर्ने उनले बताए ।

‘नेपाल र भारतको सम्बन्ध राम जानकीको विवाह भएबाट सुरु भएको हो । यहि समयबाट सम्बन्ध रोटी र बेटीको छ । यो सम्बन्धलाई नेपालको राजनीतिले कुनै असर गर्न सक्दैन ।’ उनले भने, ‘अझै यसलाई सामाजिक, सांस्कृतिक र धार्मिक रुपमा अगाडि बढाउनुपर्छ । साथै रेल र हवाई सेवाबाट पनि छिटै जोड्नु पर्छ ।’

उनले बाढीको समस्या छिटो अन्त्य गर्नुपर्ने बताए । आफुहरु बर्षातमा बाढीको मारमा पर्ने गरेको र यसको असर भारतको विहारमा पनि पर्ने गरेकाले छिटै हल हुनु पर्ने बताए ।

जानकी मातालाई र जनकपुरधामलाई अन्तराष्ट्रिय धार्मिकस्थलमा विकास गर्न माग राखे ।

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार