• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

मोदीको भ्रमणले ओलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातियो


लेखक : प्रभात चलाउने
बैशाख २८, काठमाण्डौं ।

भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको आक्रोश अझै नेपाली सर्वसाधारणमा शान्त भएको छैन । हरेक नेपालीको मन मनमा नाकाबन्दीको पीडा अझै पनि ताजै छ । त्यतिमात्र होइन, नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समेत भारतले गरिरहेको हस्तक्षेप पनि सबैमा अनुभूत भएकै छ । १९५०को सन्धीदेखि नेपाली भूगोलमाथि भारतले लगाइरहेको कुदृष्टि र गरिरहेको हस्तक्षेप पनि कसैले बिर्सिएका छैनन । यसको चर्को पीडा त सीमा क्षेत्रमा दैनिक भारतीय एसएसवीबाट यातना खेपिरहेका नागरिकलाई बढी छ । रातारात जंगे पिलर सारिएका समाचार मात्र होइन, पछिल्लो समय हजारौ विघा जमिन भारतले हडपेको पनि ताजै छ । सीमामा नेपालीहरु लुटिने गरेका समाचार पनि आइरहेकै छन् । एउटा स्वतन्त्र देशको सामान्य नागरिक जोकोहीको पनि यी घटनाहरुबाट मनमा आक्रोश जाग्छ नै । तर, अनौठो छ, नागरिक यसका बारेमा जवाफ खोजिरहेका छन् सरकारसँग । विगतमा गरिएका असमान सन्धी सम्झौताहरुदेखि अहिले भइरहेको सीमा अतिक्रमणका बारेमा सरकारी तहबाट पहल चाल्न भन्दै नागरिक सरकारको धारणा मागिरहेका छन् । तर, सरकार सधै मौन छ ।

विडम्वना त यो भएको छ कि २०७२ असोज ६ गतेदेखि लगाइएको नाकाबन्दीका बेला हल्का अडान राखेर चर्चा पाएका श्री केपी ओली आज मोदीका सामु लत्र्याक लुत्रुक भएका छन् । एउटा स्वतन्त्र देशको स्वाधीनतामाथि जवरजस्त विदेशी स्वार्थ निम्त्याउने नेपाली राजनीतिक नेताहरुको लज्जाजनक हर्कतमा ओलीको अडानलाई धेरैले सकारात्मक सुरुवात मानेकै हुन । त्यही अडान बेचेर ओली र ओली नेतृत्वको एमालेले यसअघिको चुनाव जितेको पनि हो । तर, उनको त्यो अडान परिस्थितिको उपज मात्र थियो भन्ने पुष्टि भएको छ । उनको नक्कली राष्ट्रवाद र निकृष्ट भारतभक्ति फेरि नविकरण भएको छ । महाकाली सम्झौतामा निहुरिएको साखलाई नाकाबन्दीमा केही हदसम्म उठ्न खोजे पनि अन्ततः उनी आफैले प्रयोग गर्ने नेपाली उखान टुक्का र विम्व झै ‘१२ वर्ष’पछि पनि उही आकारमा देखा परेका छन् ।

मोदी को हुन् भन्ने कुरा भारतमै हेर्नुपर्दछ । नेपाली राजनीतिमा रहेको चाकडवाद, चाप्लुसीवाद र दलाली प्रवृतिले जतिसुकै महिमामण्डन गरे पनि भारतीय जनताले भने उनलाई राम्रैसँग चिनेका छन् । मोदी अहिले केही आफ्ना नजिकका धनाढ्यहरुले सञ्चालन गरेका भारतीय मिडियाले बनाइदिएका नक्कली विम्व मात्र हुन् । मिडियाको आडमा कहिले मेकिङ इन्डिया, कहिले क्यासलेस सिस्टम, कहिले जिएसटी त कहिले हिन्दु राष्ट्रवादको अनेक फन्डा सिर्जना गरेर आफूलाई भारतभित्र होइन कि भारत बाहिर चर्चामा ल्याउन प्रयास मात्र गरिरहेका छन् । भारतभित्रै भने सदनदेखि सडकसम्म उनको रामधुलाई भइरहेकै छ । टाढा जानै पर्दैन बिहारका एक जना विद्यार्थी कन्हैया कुमारले नै मोदीको रामधुलाई गरिरहेका छन् । भारतमा गुजरात मोडल भनेर निकै चर्का भाषण गर्ने मोदीको वास्तविकता गुजरातकै हार्दिक पटेलले उतारिरहेका छन् । उत्पीडित जनता, सीमान्तकृत जाति, कमजोर विद्यार्थीमाथि दमनका तानाबाना बुनेर आफ्नो सर्वत्र हाई हाई बनाउन खोज्ने मोदीको त्यो चरित्रलाई भारतीय जनताले चिन्दै गएका छन तर यता नेपालका निकृष्ट दलाल नेताहरु ग्लोरीफाइ गरिरहेका छन् । कन्हैया कुमार, हार्दिक पटेल, सहिला रसिद जस्ता विद्यार्थीदेखि प्रकाश राज जस्ता चर्चित कलाकारले समेत भारतमा मोदीको नकाव उतारिरहँदा यता श्री ओली र ओलीका सहयात्रीहरु भने नाकाबन्दीमा मोदीले देखाएको अमानवीयता र नेपाल र नेपाली जनतामाथि भारतीय शासक वर्गले लाद्दै आएको प्रभुत्ववाद र विस्तारवादी नीतिमाथि टालो हालेर उनको महिमागान गरिरहेका छन् ।

गुरुडका सामु सर्प लल्याकलुलुक परेझै श्री ओली अहिले लल्याकलुलुक भएका छन् र सहरमा उर्दी जारी गरेका छन् कि ‘प्रभुको’ सकेजतिको सत्कार गर्न भनिरहेका छन् । यो देखेर सायद सुस्तादेखि नेपालको सीमा क्षेत्रमा दिनहुँ भारतीय दादागिरीको पीडा खेपिरहेका नागरिक मात्र होइन, भारतकै कन्हैया कुमारहरु सायद लाज मानिरहेका होलान ।

अनौठो त यो छ कि जनकपुरमा मोदीको सत्कारमा भएजतिका मान्छे जम्मा पार्न र हुन उर्दी जारी गरेका ओलीले नगरकोटका होटलहरु समेत बन्द गर्न आदेश जारी गरेका छन् । मोदीको भ्रमण अवधिभर नगरकोट, धुलिखेलसहित उपत्यका र यस आसपासका क्षेत्रका होटेलहरुमा कुनै पनि गोष्ठी, सेमिनार र ठूला कार्यक्रम नदिन आदेश जारी गरिएको छ । नगरकोटका एक व्यवसायीले पंक्तिकारसँग आफ्नो होटेलमा बैशाख २८ र २९ गते दुई वटा संस्थाले गर्ने भनेको कार्यक्रम जवरजस्त रद्द गराइएको गुनासो गरे । सुरक्षा निकायमार्फत जारी गरिएको त्यो उर्दीमा छर्लङ्गै मोदीको भ्रमण अवधिभर यस्ता कुनै पनि कार्यक्रम नगर्न प्रधानमन्त्रीकै निर्देशन रहेको उनको भनाई छ । उता अन्नपूर्ण संरक्षण क्षेत्रदेखि मुस्ताङ क्षेत्रमा जाने सबै पर्यटकहरुलाई रोकिएको छ । अनेक झन्झट झेलेर यो सिजनमा केही आम्दानी गरौ भनेर बसिरहेका पर्यटन व्यवसायीहरु ओलीले मोदीप्रति देखाएको यो खातिरदारी देखेर अवाक भएका छन् । तराईमा सार्वजनिक विदा नै दिएर सबै व्यवसाय बन्द गर्न लगाइएको छ । आखिर के कारण छ, मोदी आउँदा यसरी देश नै ठप्प पार्नुपर्ने ? जनताको करबाट उठेको करोडौको ढुकुटी खर्च गरेर, निजी क्षेत्रको व्यवसाय चौपट पारेर, नागरिकलाई सास्ती दिएर मोदीप्रति ओलीले देखाएको लज्जाजनक भक्तिले सायद नगरकोट, अन्नपूर्ण र मुक्तिनाथ क्षेत्रमा जान नपाएका अन्य देशका नागरिकहरु समेत लाजले भुतुक्क भएको हुनुपर्छ ।

कुरा त्यतिमात्र छैन यता ओलीले काठमाडौं महानगरमा पनि त्यस्तै उर्दी जारी गरेका छन् । यतिसम्म कि महानगरपालिकाले सबै काम रोकेर महानगरपालिकाको साँचो नै मोदीको हातमा हस्तान्तरण गर्दैछ । ‘यो सब ‘प्रभु’कै लिला हो, ‘प्रभु’कै सिर्जना र सम्पति हो, त्यसैले हजुर नै आएपछि यो साँचो पनि लिइबक्सियोस’ भन्ने शैलीमा महानगरलाई तयारी गर्न ओलीले लगाएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य २९ गते महानगरको साँचो कसरी हस्तान्तरण गर्ने, त्यस क्षण जिउडाल कसरी सजाउने भनेर यतिबेला रिहर्सल नै गर्न लागेका छन् । ओली र ओलीजनहरु यो पहिलेदेखि कै परम्परा भएको भनेर आफ्नो कमजोरीलाई विगततिर फर्काउन पनि खोजेको देखिन्छ । तर, कुरा परम्पराको कदापी होइन । परम्पराकै कुरा गर्ने हो भने राणाकालमा कोही राणा शासक गाउँमा आयो भने आफ्नो ओछ्यान नै सुम्पनुपर्ने चलन थियो । सायद ओली महोदयले विगतका ती सबै परम्परा र चलन अहिले सुरु गर्न खोजेको हुनुपर्छ ।

कुरा मोदीको होइन । भारतीय शासक वर्गले नेपालमाथि लाद्दै आएको प्रभुत्व, नेपालमा राजनीतिक, आर्थिक, सांस्कृति रुपमा भारतले गर्दै आएको हस्तक्षेप, मोदीको भित्री चाहना आम नागरिकलाई प्रष्टै छ । चर्चा मात्र चाहने मोदीले सबैतिर यस्तै होस भन्ने चाहना राख्छन नै । उनले देशको कुटनीतिक मर्यादालाई नै उल्लंघन गराएर यी सब गराउन लगाए । ओलीले आफ्नो देशको स्वाभिमान कायम राख्नुपर्ने हो । एउटा स्वतन्त्र र सार्वभौम अर्को देशले गर्ने कुनै पनि हस्तक्षेपको ठाडो मुकाविला गर्नुपर्छ । उत्तरकोरियाजस्तो सानो देशले सबैको नाकाबन्दी खेपेर पनि विश्वको महाशक्ति मानिने अमेरिकालाई खुल्लमखुल्ला चुनौती दिएको छ । तर, ओली भने भारतको हस्तक्षेपलाई औपचारिक रुपमा एजेन्डा बनाएर छलफल नै गर्दैनन । त्यसलाई अन्तराष्ट्रिय करण गर्ने आवश्यकता ठान्ने त के त्यो सोच्नसम्म पनि सक्दैनन । बरु, नेपालका सबै प्राकृतिक, सांस्कृतिक स्रोत साधनहरुमाथिको अधिकार सुम्पेर बलात हस्तक्षेपलाई जवरजस्त निम्त्याउन अर्को इट्टा थपिरहेका छन् ।

ओली र ओलीजनहरुले विषयको यो पाटो देखेनन् तर जसले देखे उनले यसको विरोध यो भ्रमणको तयारी हुँदादेखि नै गरेका छन् । विडम्वाना भन्नुपर्छ त्यसबाट पनि यिनको चेत अलिकति पनि खुलेको देखिएन । बरु, ती विरोध गर्नेहरुमाथि हदैसम्मको दमन गर्ने आदेश ओलीले दिएका छन् । यिनका लागि सडकमा निस्केर कालोझन्डा देखाउनु त अपराध नै भयो, संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर सामाजिक सञ्जालमा नागरिकले लेख्न पनि नपाउने गरी ओलीको आदेश जारी भएको छ । ओलीहरुलाई थाहा हुनुपर्छ, मोदी त के विश्वका सबैभन्दा शक्तिसम्पन्न भन्ने देशका प्रमुखहरुको पनि ती देशहरुमा विरोध भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि राष्ट्रपतिको सपथ लिइरहँदा बाहिर हजारौ नागरिक विरोधमा सडकमा ओलिएकै थिए, रुसका राष्ट्रपति भ्लादमिर पुटिनले हालै चौथो कार्यकालका लागि सपथ लिइरहँदा बाहिर सहरमा हजारौ नागरिक त्यसको विरोधमा उत्रेकै थिए । जर्मनीको हमवर्गमा जी २० शिखर सम्मेलन भइरहेका बेला ट्रम्पका विरुद्ध जर्मनीका मात्र होइन, युरोपभरका हजारौ मानिसहरु गएर सहरभरि प्रदर्शन गरेका थिए । उनीहरुको विरोधको अधिकारलाई ती देशले सम्मान नै गरे । तर, यहाँ मोदीका खातिरदारी गर्न ओली संविधानले दिएका मौलिक अधिकारहरुलाई नै बन्देज लगाएर नागरिकमाथि निर्लज्ज दमनको नीति लगिरहेका छन् ।

ओलीको भक्ति र उनको कमजोरी थाहा पाएरै हुनुपर्छ भ्रमणका नाममा मोदीले नेपालको सुरक्षा संयन्त्रको खिल्ली उडाएर आफ्नै सुरक्षा संयन्त्र परिचालन गर्न बाध्य पारेका छन् । अहिले जनकपुर, काठमाडौंदेखि मुस्ताङसम्म नै भारतीय सेना स्थल र हवाई गस्ती गरिरहेको छ । सुरक्षाको नाममा सयौं विदेशी सेनालाई आफ्नो भूमिमा परेड खेल्न निम्तो दिने ओलीहरुको यो निर्णय निकै आपत्तीजनक छ । यसले देशको स्वाधीनता र अस्तित्वमाथि नै प्रश्न उठाएको छ । यसका विरुद्ध आम सचेत नागरिकहरु उठ्नैपर्दछ । ओली एक जना मोदीका पाउमा गिरेर देशको स्वाभिमानमा प्रश्न उठाए पनि हामीले देशको स्वाधिनता बचाउनै पर्दछ ।

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार